इन्टरनेट प्रयोगकर्ताको संख्या ३५ लाख नाघ्यो, एक महिनामै थपिए करिब २१ हजार ग्राहक 

इन्टरनेट प्रयोगकर्ताको संख्या ३५ लाख नाघ्यो, एक महिनामै थपिए करिब २१ हजार ग्राहक 

काठमाडौं : नेपालमा इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या निरन्तर बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार एक महिनाको अवधिमा २० हजार ८४३ नयाँ ग्राहक थपिएका छन्। 

गत बैशाख मसान्तसम्म ३४ लाख ८७ हजार ९७२ रहेको कुल इन्टरनेट ग्राहक संख्या वैशाख मसान्तसम्म आइपुग्दा ३५ लाख ८ हजार ८१५ पुगेको छ ।
प्राधिकरणको तथ्यांकले नेपालको ब्रोडब्यान्ड इन्टरनेट बजारमा निजी तथा सरकारी सेवा प्रदायकबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको देखाएको छ । बजार हिस्साका आधारमा वल्र्डलिंक कम्युनिकेसन्सले आफ्नो अग्रता कायम राखेको छ ।

जेठ मसान्तसम्म कम्पनीका ग्राहक संख्या १० लाख ८१ हजार ५६६ पुगेका छन् । जुन बैशाख मसान्तको १० लाख ७८ हजार ७०९ को तुलनामा उल्लेख्य वृद्धि हो। यससँगै वल्र्डलिंकले कुल बजारको करिब ३१ प्रतिशत हिस्सा ओगटेको छ।

सरकारी सेवा प्रदायक नेपाल टेलिकमले पनि ग्राहक संख्या बढाउन सफल भएको छ। चैतमा ३ लाख ८३ हजार १०१ ग्राहक रहेको टेलिकमको फाइबर इन्टरनेट सेवा प्रयोगकर्ता संख्या जेठसम्म बढेर ३ लाख ८४ हजार ९५४ पुगेको छ।  

त्यस्तै निजी क्षेत्रको अर्को प्रमुख सेवा प्रदायक भायानेट कम्युनिकेसन्सले पनि ग्राहक संख्या र बजार हिस्सा दुवै बढाएको छ । बैशाख मसान्तसम्म ३ लाख ६३ हजार ३७ ग्राहक रहेको भायानेटका ग्राहक संख्या जेठसम्म ३ लाख ६९ हजार ७१४ पुगेका छन्। ग्राहक वृद्धिसँगै कम्पनीले ब्रोडब्यान्ड बजारमा आफ्नो चौथो स्थान सुरक्षित राख्न सफल भएको छ ।

यता डिसहोम फाइबर इन्टरनेटका ग्राहक संख्या पनि बढेको छन् । बैशाखमा ३ लाख ६९ हजार २१८ ग्राहक रहेको कम्पनीको संख्या जेठसम्म बढेर ३ लाख ७१ हजार २५३ मा झरेको छ । ग्राहक संख्या बढेपनि कम्पनीको बजार हिस्सा भने घटेको छ । गत बैशाखमा भने कम्पनीको ग्राहक संख्या र बजार हिस्सा दुवै घटेको थियो ।

अन्य सेवा प्रदायकहरूमा क्लासिक टेकले पनि ग्राहक संख्या वृद्धि गरेको छ । बैशाखमा २ लाख ८६ हजार ९५३ ग्राहक रहेको कम्पनीका ग्राहक संख्या जेठसम्म बढेर २ लाख ८९ हजार ७९८ पुगेका छन्। कम्पनीले कुल बजारको ८.२६ प्रतिशत हिस्सा ओगटेको छ।

सुबिसु केबल नेटले पनि ग्राहक संख्या बढाउन सफल भएको छ । बैशाखमा २ लाख ६४ हजार ८४९ ग्राहक रहेको कम्पनीका ग्राहक संख्या जेठसम्म २ लाख ६६ हजार ८४९ पुगेका छन्।  

उता सीजी कम्युनिकेसनले पनि ग्राहक संख्या बढाएको छ । गत बैशाखमा ९० हजार २०६ ग्राहक रहेको कम्पनीका ग्राहक संख्या बढेर ९१ हजार ४९४ पुगेका छन्। ग्राहक वृद्धिसँगै कम्पनीको बजार हिस्सा पनि क्रमशः बढ्दो अवस्थामा रहेको छ।

अन्य सेवा प्रदायकहरूमा वेबसर्फर नेपालका १ लाख ७३ हजार ६९६ ग्राहक रहेका छन् भने टेकमाइन्ड नेटवर्कका १ लाख १७ हजार ७८ र वाइफाई नेपालका १ लाख १३ हजार २६५ ग्राहक रहेका छन्।  


 
 

थप समाचार