८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कस्तो छ कर्जा लगानीको स्थिति ? 

८२ खर्ब नाघ्यो बैंकिङ प्रणालीमा निक्षेप, कस्तो छ कर्जा लगानीको स्थिति ? 

काठमाडौं : बैंकिङ प्रणालीमा अधिक तरलताको चाप बढ्दै गएको छ । बजारमा आएको मागको संकुचन र बैंकहरुले लगानी गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको निक्षेप ८२ खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ८१ खर्ब एक अर्ब रुपैयाँ पुगेको हो । 

गत असार २२ गते बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप २५ अर्ब रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् असार २१ गते आइतबारसम्म बैंक तथा वित्तीय संस्थामा ८१ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

बैंकका अनुसार उक्त दिन वाणिज्य बैंकहरुमा २३ अर्ब रुपैयाँ निक्षेप थपिएको हो । अन्य वित्तीय क्षेत्रको निक्षेप भने दुई अर्बले बढेर ७ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको रहेको छ । अघिल्लो दिनसम्म ७३ खर्ब ६ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकमा बढेर ७३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाका निक्षेप थपिदै जाँदा कर्जा लगानी भने सुस्त देखिएको छ ।  राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले यस अवधिमा ५९ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुको कर्जा लगानी ५२ खर्ब ८१ अर्ब रुपैयाँ रहेको छ भने अन्य वित्तीय क्षेत्रले ६ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

यसका साथै बैंकिङ्ग प्रणालीमा निक्षेप बढेसँगै अन्तर बैंक कारोबार स्थिर रहेको छ भने सिडि रेसियो घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । हाल अन्तर बैंक कारोबारको ब्याजदर २.७५ प्रतिशत रहेको छ भने सिडि रेसियो ७१.७६ बिन्दुमा झरेको छ । 
 

थप समाचार