एआई चिपको क्रेज : अमेरिकी बजारबाट २६.५ अर्ब डलर जुटाउँदै एसके हाइनिक्सले रच्यो इतिहास

एआई चिपको क्रेज : अमेरिकी बजारबाट २६.५ अर्ब डलर जुटाउँदै एसके हाइनिक्सले रच्यो इतिहास

एजेन्सी : दक्षिण कोरियाको अग्रणी मेमोरी चिप निर्माता एसके हाइनिक्सले अमेरिकी शेयर बजारमा ऐतिहासिक सफलता हासिल गरेको छ। 

कम्पनीले न्यूयोर्कमा गरिएको अमेरिकन डिपोजिटरी शेयर बिक्रीमार्फत २६.५ अर्ब अमेरिकी डलर (करिब १९.८ अर्ब पाउन्ड) बराबरको पूँजी संकलन गर्दै अमेरिकी बजारमा विदेशी कम्पनीद्वारा गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो शेयर सूचीकरण (लिस्टिङ) को कीर्तिमान कायम गरेको हो।

कृत्रिम बुद्धिमत्ता (एआई) चिप निर्माणमा विश्वकै अग्रणी कम्पनी एनभिडियाको प्रमुख मेमोरी चिप आपूर्तिकर्ता एसके हाइनिक्सले बिहीबार १७ करोड ७९ लाख अमेरिकन डिपोजिटरी शेयर प्रतिशेयर १४९ अमेरिकी डलरका दरले बिक्री गरेको जनाएको छ। कम्पनीका यी शेयर शुक्रबारदेखि अमेरिकी प्रविधि कम्पनीहरूको प्रमुख शेयर बजार नास्डाकमा कारोबारमा आउनेछन्।

एसके हाइनिक्सले पछिल्ला केही वर्षयता एआई प्रविधिको तीव्र विस्तारबाट सबैभन्दा बढी लाभ उठाउने कम्पनीहरूमध्ये आफूलाई स्थापित गरेको छ। एआई प्रणाली सञ्चालनका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको माग विश्वभर तीव्र रूपमा बढेपछि कम्पनीको व्यवसाय र बजार मूल्य दुवै उल्लेखनीय रूपमा उकालो लागेको हो। यही कारण गत मे महिनामा कम्पनीको बजार पूँजीकरण पहिलो पटक १ ट्रिलियन अमेरिकी डलर नाघेको थियो।

यस वर्ष मात्रै दक्षिण कोरियामा एसके हाइनिक्सको शेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ। कम्पनीसँगै सामसुङ इलेक्ट्रोनिक्सको शेयर मूल्यमा आएको तीव्र वृद्धिले दक्षिण कोरियाको प्रमुख शेयर सूचकांक कोस्पीलाई पनि उल्लेखनीय उचाइमा पुर्याएको छ। यस अवधिमा कोस्पी सूचकांक ७० प्रतिशतभन्दा बढीले बढेको जनाइएको छ।

विश्वका प्रमुख मेमोरी चिप उत्पादकमध्ये एक मानिने एसके हाइनिक्सले उच्च ब्यान्डविथ मेमोरी लगायत एआईका लागि आवश्यक उन्नत चिप उत्पादनमा आफ्नो प्रभाव बलियो बनाएको छ। विश्वभर एआई पूर्वाधार निर्माणमा सयौं अर्ब डलर लगानी भइरहेका कारण मेमोरी चिप उद्योगले अभूतपूर्व विस्तारको अवसर पाएको विश्लेषकहरू बताउँछन्। यसैको प्रभाव स्वरूप एसके हाइनिक्सका प्रतिस्पर्धी सामसुङ इलेक्ट्रोनिक्स र अमेरिकी कम्पनी माइक्रोनका शेयर मूल्य पनि पछिल्ला महिनाहरूमा दोब्बरभन्दा बढीले वृद्धि भएका छन्।

सिओल नेशनल विश्वविद्यालयका वित्त प्राध्यापक जेवोन चोईका अनुसार अमेरिकी पूँजी बजारमा प्रवेश गर्नु एसके हाइनिक्सका लागि महत्त्वपूर्ण कदम हो। उनका अनुसार अमेरिकामा सूचीकरण भएपछि कम्पनीले विश्वकै ठूलो पूँजी बजारबाट सहज रूपमा लगानी आकर्षित गर्न सक्नेछ । जहाँ दक्षिण कोरियाको तुलनामा लगानीका अवसर र पहुँच दुवै व्यापक छन्।

उनले यो सूचीकरणलाई मेमोरी चिप उद्योगप्रति लगानीकर्ताको उत्साह कति समयसम्म कायम रहन्छ भन्ने परीक्षणका रूपमा समेत हेरिएको बताए। पछिल्लो समय एआई प्रविधिको तीव्र विस्तारसँगै विश्वभरका प्रविधि कम्पनीहरू शेयर बजारमार्फत ठूलो मात्रामा पूँजी जुटाउने प्रतिस्पर्धामा छन्।

एसके हाइनिक्सको शेयर बिक्रीमा लगानीकर्ताको उत्साह निकै उच्च देखिएको छ। कम्पनीका अनुसार उपलब्ध गराइएका शेयरको तुलनामा माग सात गुणाभन्दा बढी परेको थियो। यसले एआई आपूर्ति शृंखलामा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीहरूप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास अझ बलियो रहेको संकेत गरेको छ।

कम्पनीले जारी गरेको प्रत्येक अमेरिकन डिपोजिटरी शेयर दक्षिण कोरियाको शेयर बजारमा कारोबार हुने साधारण शेयरको दशांश (एक दशमलव) बराबर हुने जनाएको छ। यस व्यवस्थाले अमेरिकी लगानीकर्तालाई विदेशी शेयर बजारमा प्रत्यक्ष कारोबार नगरी एसके हाइनिक्समा लगानी गर्ने सहज अवसर प्रदान गर्नेछ।

एसके हाइनिक्सले आगामी वर्षहरूमा दक्षिण कोरियामा चिप उत्पादन क्षमता विस्तार गर्नुका साथै एआई पूर्वाधार विकासमा ठूलो लगानी गर्ने योजना सार्वजनिक गरिसकेको छ। हानयाङ विश्वविद्यालयका व्यवसाय प्रशासनका प्राध्यापक युन योङजिनका अनुसार अमेरिकी सूचीकरणबाट प्राप्त हुने पूँजीले कम्पनीको स्वदेशी लगानी योजनालाई थप बल पुग्ने अपेक्षा दक्षिण कोरियाली सरकारले गरेको छ।

यद्यपि, उनले यस सूचीकरणसँग केही जोखिम पनि जोडिएको बताए। उनका अनुसार अमेरिकी बजारमा आकर्षण बढ्दै जाँदा केही लगानीकर्ताले दक्षिण कोरियाको शेयर बजारबाट लगानी निकालेर अमेरिकी बजारतर्फ मोड्न सक्ने सम्भावना रहनेछ, जसले घरेलु पूँजी बजारमा दबाब सिर्जना गर्न सक्छ।

दक्षिण कोरिया सरकारले पनि सेमिकन्डक्टर तथा एआई उद्योगलाई राष्ट्रिय प्राथमिकतामा राखेको छ। गत जुनमा सरकारले एसके हाइनिक्स र सामसुङसँगको सहकार्यमा ८८० अर्ब अमेरिकी डलरभन्दा बढीको दीर्घकालीन लगानी योजना सार्वजनिक गरेको थियो। यस योजनाले देशलाई विश्वकै अग्रणी सेमिकन्डक्टर तथा एआई केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

हाल एसके हाइनिक्स र सामसुङ दुवैको बजार मूल्य १ ट्रिलियन अमेरिकी डलरभन्दा बढी पुगेको छ। यससँगै यी कम्पनीहरू एनभिडिया, एप्पल, माइक्रोसफ्ट तथा गुगलको मातृ कम्पनी अल्फाबेट जस्ता विश्वका ट्रिलियन डलर मूल्य भएका प्रविधि कम्पनीहरूको सूचीमा रहेका छन् । 

थप समाचार