ओपनएआई र एन्थ्रोपिकलाई टक्कर दिन मेटाको नयाँ एआई मोडल ‘म्युज स्पार्क १.१’ सार्वजनिक

ओपनएआई र एन्थ्रोपिकलाई टक्कर दिन मेटाको नयाँ एआई मोडल ‘म्युज स्पार्क १.१’ सार्वजनिक

एजेन्सी : मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मार्क जुकरबर्ग तीन वर्षभन्दा बढी समयपछि सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा फर्किएका छन्। उनले एक्समार्फत मेटाको नयाँ तथा उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) मोडल ‘म्युज स्पार्क १.१’ सार्वजनिक भएको घोषणा गरेका हुन्। 

मेटाले यसलाई ओपनएआई र एन्थ्रोपिक जस्ता प्रतिस्पर्धी कम्पनीसँग एआई बजारमा प्रतिस्पर्धा गर्ने जनाएको छ। जुकरबर्गले आफ्नो पोस्टमा म्युज स्पार्क १.१ कम लागतमा उच्च क्षमताको एजेन्टिक तथा कोडिङ एआई मोडल भएको बताएका छन्। 

उनका अनुसार यो मोडल मेटाको नयाँ मेटा मोडल एपिआई र मेटा एआई मार्फत उपलब्ध हुनेछ। उपकरण प्रयोग, कम्प्युटर सञ्चालन तथा एजेन्टिक कार्यसम्पादनका हिसाबले यो मोडल निकै सक्षम रहेको दाबी गरिएको छ।

म्युज स्पार्क १.१ मा १० लाख (१० लाख टोकन) को कन्टेक्स्ट विन्डो रहेको छ । यसले समानान्तर रूपमा धेरै सहायक एजेन्टलाई काम बाँड्न सक्ने क्षमता राख्छ भने डेस्कटप, मोबाइल तथा ब्राउजरको कम्प्युटर अन्तरमुख प्रयोग गर्न सक्ने गरी तालिम दिइएको मेटाले जनाएको छ।

कम्पनीका अनुसार डेभलपरहरुले म्युज स्पार्क १.१ प्रयोग गरेर नयाँ एआई अनुप्रयोग तथा स्वचालित प्रणाली विकास गर्न सक्नेछन्। हाल अमेरिकामा रहेका विकासकर्ताहरूले मेटा मोडल एपिआईको सार्वजनिक परीक्षण संस्करणमार्फत यसमा पहुँच पाइसकेका छन्।

मेटाले यस अपग्रेड गरिएको मोडेललाई कोडिङ, एजेन्टिक वर्कफ्लो र सफ्टवेयर अटोमेसनका लागि अहिलेसम्मकै सबैभन्दा सक्षम एआई प्रणाली भएको दाबी गरेको छ। यो मोडेलले कोड लेख्ने र डिबग गर्ने मात्र होइन, विभिन्न सफ्टवेयर उपकरणसँग अन्तरक्रिया (इन्टर्याक्ट) पनि गर्न सक्छ।

साथै यसले टेक्स्ट, तस्बिर र भिडियो बुझेर मानवीय हस्तक्षेपबिनै अत्यन्त जटिल तथा मल्टिस्टेप कार्यहरू सम्पन्न गर्न सक्ने क्षमता राख्छ।

यो मोडल मेटाको सुपरइन्टेलिजेन्स प्रयोगशाला ले विकास गरेको हो। यसअघि कम्पनीले अप्रिलमा म्युज स्पार्कको पहिलो संस्करण सार्वजनिक गरेको थियो। नयाँ संस्करणसँगै मेटाले सशुल्क एआई मोडल एपिआई बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ।

मेटाले एपिआई प्रयोग गर्ने डेभलपरलाई सुरुआतमा २० अमेरिकी डलर बराबरको निःशुल्क सुविधा रकम उपलब्ध गराउने जनाएको छ। त्यसपछि ुप्रयोगअनुसार भुक्तानीु अर्थात् जति प्रयोग, त्यति शुल्क तिर्नुपर्ने व्यवस्था लागू हुनेछ। 

कम्पनीले प्रति १० लाख प्रवेश टोकन १.२५ डलर र प्रति १० लाख निर्गमन टोकन ४.२५ डलर शुल्क निर्धारण गरेको छ। यो मूल्य ओपनएआईको जिपिटी–५ मिनी र एन्थ्रोपिकको क्लाउड हाइकु ४.५ भन्दा केही महँगो भए पनि क्लाउड सोनेट ४.६ भन्दा सस्तो रहेको बताइएको छ।

म्युज स्पार्क १.१ हाल मेटा एआई एप र वेबसाइटको ‘थिंकिङ मोड’ मोडमा उपलब्ध गराइएको छ। आगामी दिनमा यसले क्रमशः ह्वाट्सएप, इन्स्टाग्राम, फेसबुक तथा मेटाका एआई सक्षम स्मार्ट चस्मामा प्रयोग भइरहेका ल्लामा मोडललाई प्रतिस्थापन गर्ने कम्पनीको योजना छ।

यसअघि मेटाले आफ्नो सुपरइन्टेलिजेन्स प्रयोगशालामार्फत म्युज इमेज नामक नयाँ तस्बिर निर्माण एआई मोडल पनि सार्वजनिक गरेको थियो। म्युज स्पार्क १.१ को आगमनसँगै कम्पनीले आफ्नो सिर्जनात्मक एआई पोर्टफोलियोलाई अझ सुदृढ बनाउने प्रयासलाई तीव्रता दिएको छ।

थप समाचार