पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर

पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर

काठमाडौं : नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न अपि, मनास्लु र कञ्‍चनजंघा क्षेत्रमा तीनवटा विशेष पर्वतारोहण तालिम सञ्चालन गरिने भएको हो । 

यसअन्तर्गत अपी हिमाल क्षेत्रमा माउन्टेन गाइड समर स्किल (बेसिक माउन्टेनियरिङ ट्रेनिङ), कञ्चनजंघा क्षेत्रमा माउन्टेन गाइड विन्टर स्किल (एड्भान्स माउन्टेनियरिङ ट्रेनिङ) तथा मनास्लु क्षेत्रमा माउन्टेन लिडर ट्रेनिङ (समर स्किल) सञ्चालन गरिनेछ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐरले पर्वतीय पर्यटन नेपालको सबैभन्दा महत्वपूर्ण पहिचान र प्रतिस्पर्धात्मक क्षमता भएको क्षेत्र भएकाले यसको दिगो विकासका लागि दक्ष जनशक्ति निर्माण अपरिहार्य रहेको बताए ।

उनले भने, गुणस्तरीय, सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि दक्ष मानव स्रोत नै सबैभन्दा ठूलो आधार हो । नेपाल पर्वतारोहण संघसँगको यो सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष पर्वतारोहण जनशक्ति उत्पादन गर्न सहयोग पुग्नेछ र नेपालको पर्वतीय पर्यटनलाई अझ सुरक्षित, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान दिने विश्वास लिएका छौं ।’

समझदारीपत्रमा एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पा, महासचिव राजेन्द्रबहादुर लामा र कोषाध्यक्ष सुमी लामाले हस्ताक्षर गरेका छन् । त्यसैगरी बोर्डका तर्फबाट एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐर, राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाह र राष्ट्रिय परियोजना प्रबन्धक धर्मराज दवाडीले हस्ताक्षर गरेका हुन् ।

थप समाचार