काठमाडौं : लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक (न्यू मस्र्याङ्दी सबस्टेसन) देखि चितवनको भरतपुर महानगरपालिका-आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म करिब ६७ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गर्ने क्रममा मार्कीचोक क्षेत्रमा एउटा टावर निर्माण हुन नसक्दा लामो समयदेखि लाइन सञ्चालनमा आउन सकेको थिएन ।
गत असार ६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले स्थलगत निरीक्षण गर्दै स्थानीय जनप्रतिनिधि, जिल्ला प्रशासन र आयोजनाका जिम्मेवार अधिकारीबीच समन्वय गरी निर्माणमा देखिएको अवरोध हटाउन पहल गरेका थिए। त्यस लगत्तै टावर निर्माण कार्य तीव्र रूपमा अघि बढ्दै सम्पन्न भएपछि प्रसारण लाइन सञ्चालनमा आएको हो ।
प्रसारण लाइन सञ्चालनसँगै यस क्षेत्रमा बारम्बार हुने ट्रिपिङ तथा ‘झ्याप–झ्याप’ बत्ती जाने समस्यामा उल्लेखनीय कमी आउने विश्वास गरिएको छ । साथै, विद्युत् प्रसारण प्रणालीको विश्वसनीयता बढ्नुका साथै विद्युत् आपूर्तिको गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको छ ।
ऊर्जा मन्त्री श्रेष्ठले बर्खायाममा मस्र्याङ्दी करिडोरका निजी क्षेत्रबाट सञ्चालित जलविद्युत् आयोजनाहरूले उत्पादन गरेको सम्पूर्ण विद्युत् अब भरतपुर हुँदै राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह गर्न सकिने बताउनुभयो । यसअघि प्रसारण क्षमताको अभावका कारण कम क्षमतामा सञ्चालन गर्नुपर्ने जलविद्युत् आयोजनाहरूलाई पनि अब राहत पुग्ने उनको भनाइ छ ।
उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट उत्पादन भएको स्वच्छ ऊर्जा अब राष्ट्रिय प्रणालीमा थप प्रभावकारी रूपमा समाहित हुने उल्लेख गर्दै यसलाई नेपालको ऊर्जा आत्मनिर्भरता र ऊर्जा सुरक्षा सुदृढ गर्ने दिशामा महत्वपूर्ण उपलब्धिका रूपमा लिनुपर्ने बताए ।
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन युरोपेली विकास साझेदारको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।
आयोजना सञ्चालनमा आएपछि मस्र्याङ्दी करिडोरका जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा सहज रूपमा प्रवाह भई देशको विद्युत् प्रणाली अझ प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ ।