वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, एघार महिनामा कमाए साढे ६४ अर्ब 

वाणिज्य बैंकहरूको नाफा १९ प्रतिशतले बढ्यो, एघार महिनामा कमाए साढे ६४ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले साढे ६४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म बैंकहरुले ६४ अर्ब ५६ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.६२ प्रतिशतले बढी हो । गत वर्षको जेठ मसान्तसम्म बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा आइपुग्दा १४ बैंकहरुको नाफा बढेको छ भने छ वटाको नाफा घटेको छ । सर्वाधिक नाफा बढाउनेमा कुमारी बैंक रहेको छ । बैंकको नाफा गत वर्षको तुलनामा ११.६८ प्रतिशतले बढेको हो । जेठ मसान्तसम्म आइपुग्दा प्रभु बैंकको नाफा ३८.८१ प्रतिशतले घटेको छ । 

कुन बैंकले कति कमाए ?

यस अवधिमा सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । चालु आवको जेठ मसान्तसम्म बैंकले आठ अर्ब ४९ करोड २२ लाख रुपैयाँ नाफा कमाएको हो । जुन गत वर्षको तुलनामा ३५.५२ प्रतिशतले बढी हो ।

गत वर्ष छ अर्ब तीन करोड ६४ लाख रुपैयाँ नाफा कमाएको ग्लोबल आईएमई बैंकले यस वर्ष ५ अर्ब ९७ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । जुन ०.९६ प्रतितशले कम हो ।

राष्ट्र बैंकका अनुसार प्राइम कमर्सियल बैंकको नाफा २९.०७  प्रतिशतले बढेको छ भने राष्ट्रिय वाणिज्य बैंकको नाफा ६८.८२ प्रतिशतले बढेको छ । त्यस्तै सानिमा बैंकको ४४.८४ प्रतिशत, माछापुच्छ्रेको ४४.२५ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलको नाफा २३.७१ प्रतिशतले बढेको छ । 

नाफा घटेका बैंकहरु 

जेठ मसान्तसम्म आइपुग्दा छ वाणिज्य बैंकहरुको नाफा घटेको छ । यस अवधिमा आइपुग्दा ग्लोबल आईएमई बैंक, नेपा इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु र एनआईसी एशिया बैंकको नाफा घटेको हो । 

 

राष्ट्र बैंकका अनुसार चालु आवको यस अवधिमा बैंक तथा वित्तीय संस्थाले ७२ अर्ब ८५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन् । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा २०.९२ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस अवधिमा वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब ५६ करोड, विकास बैंकहरुको नाफा सात अर्ब ३२ करोड र फाइनान्सहरुको नाफा ९६ करोड ८० लाख रुपैयाँ रहेको छ ।
 

थप समाचार