मध्यपूर्वमा संकट गहिरिँदैः इरानले होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाद्वारा नयाँ हवाई आक्रमण

मध्यपूर्वमा संकट गहिरिँदैः इरानले होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाद्वारा नयाँ हवाई आक्रमण

एजेन्सी : अमेरिकाले होर्मुज जलमार्ग हुँदै गइरहेको एक व्यावसायिक जहाजमाथि इरानले आक्रमण गरेको आरोप लगाउँदै इरानविरुद्ध नयाँ चरणको हवाई आक्रमण गरेको जनाएको छ।

त्यसको केही समयअघि इरानले विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक मानिने होर्मुज जलडमरूमध्य अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको थियो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले (आईआरजीसी) जलमार्ग बन्द गरिएको पुष्टि गर्दै अमेरिकी आक्रमणको कडा जवाफ दिइने चेतावनी दिएको छ। अमेरिकी आक्रमण भएको केही घण्टामै आईआरजीसीले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ। यसैबीच संयुक्त अरब इमिरेट्स, कतार, कुवेत र बहराइनले पनि इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जनाइएको छ।

यसअघि यही साता तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि भएका आक्रमणपछि अमेरिका र इरानबीच सैन्य तनाव तीव्र बनेको थियो।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार साइप्रसको झण्डा बोकेको एमभी जीएफएस ग्यालेक्सी जहाजमाथि आईआरजीसीले आक्रमण गरेपछि अमेरिकाले यस साताको तेस्रो चरणको सैन्य कारबाही सुरु गरेको हो। सेन्टकमका अनुसार आक्रमणका कारण जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुगेको छ भने एक जना चालकदल सदस्य बेपत्ता भएका छन्।

अमेरिकाले आफ्नो आक्रमणमा इरानका १४० सैन्य लक्ष्यमा प्रहार गरिएको जनाएको छ। ती लक्ष्यमा मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, सञ्चार सञ्जाल र तटीय निगरानी केन्द्रहरू समावेश रहेको अमेरिकाको दाबी छ।

बेलायतको यूके मेरिटाइम ट्रेड अपरेसन्सले जहाजका चालकदलले जहाज छोडेर लाइफबोटमा शरण लिन बाध्य भएको जनाएको छ। सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको वक्तव्यमा व्यावसायिक जहाजमाथि भएका अघिल्ला आक्रमणपछि पनि इरानलाई स्थिति सुधार्ने अवसर दिइएको तर त्यसमा असफल भएको उल्लेख गरेको छ।

अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले पनि उक्त वक्तव्य साझा गर्दै इरानले गलत निर्णय गरेको र त्यसको परिणाम भोग्नुपर्ने टिप्पणी गरेका छन्।

उता आईआरजीसीले अमेरिकाले दक्षिणी तटीय क्षेत्रमा रहेका आफ्ना केही सैन्य अड्डा तथा दूरसञ्चार टावरहरूलाई निशाना बनाएको जनाएको छ।

जवाफी कारबाहीस्वरूप इरानले जोर्डनस्थित प्रिन्स हसन एयर बेसमा आक्रमण गरिएको र त्यहाँको कमाण्ड तथा नियन्त्रण केन्द्र तथा एमक्यु–९ ड्रोन राख्ने ह्याङ्गरहरू नष्ट गरिएको दाबी गरेको छ।

यसअघि आइतबार इरानको सरकारी सञ्चारमाध्यमले अनुमति नलिएको मार्ग हुँदै होर्मुज जलडमरूमध्य पार गर्न खोजेको एउटा जहाजमाथि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको र त्यसपछि जलडमरूमध्य अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको थियो। आईआरजीसीका अनुसार जहाजले पटक–पटक दिइएको निर्देशन बेवास्ता गरेपछि चेतावनीस्वरूप गोली प्रहार गरिएको थियो।

आईआरजीसीले जलमार्ग बन्द गर्ने निर्णयका कारण अमेरिकाले थप सैन्य कारबाही गरे त्यसको कडा जवाफ दिइने र क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई समेत निशाना बनाइने चेतावनी दिएको छ।

इरानका संसद् सभामुख तथा अमेरिकासँग वार्ताका प्रमुख वार्ताकार मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत एकतर्फी सम्झौताहरूको युग समाप्त भएको बताएका छन्।

यसअघि ओमानको जलक्षेत्र हुँदै अमेरिकी सिफारिस गरिएको मार्ग प्रयोग गरेर यात्रा गरिरहेका तीनवटा व्यावसायिक तेल ट्याङ्करमाथि आक्रमण भएको थियो। इरानले भने आफ्नो जलक्षेत्र हुँदै जाने वैकल्पिक मार्ग मात्र सुरक्षित रहेको दाबी गर्दै आएको छ।

इरानी अधिकारीहरूका अनुसार त्यसपछि अमेरिकाले गरेको हवाई आक्रमणमा १७ जनाको मृत्यु र ११५ जना घाइते भएका थिए। त्यसको जवाफमा इरानले खाडी क्षेत्रका अमेरिकी साझेदार राष्ट्रहरूलाई निशाना बनाएको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका आक्रमणपछि युद्धविराम समाप्त भएको घोषणा गरेका छन्। यद्यपि उनले वार्ता जारी रहने र मध्यस्थकर्ताहरूले संवाद पुनः सुरु गराउने प्रयास गरिरहेको बताएका छन्। उता इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकामाथि युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्।

अमेरिकी सञ्चारमाध्यमका अनुसार इरानले मध्यस्थकर्तामार्फत अमेरिकी अधिकारीहरूलाई ट्याङ्करमाथिको आक्रमण गल्तीवश भएको र त्यसको जिम्मेवार आफ्नै देशभित्रको एउटा नियन्त्रणबाहिर गएको समूह रहेको जानकारी दिएको छ। 

अमेरिकी पक्षले भने इरानसँग होर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न तथा व्यावसायिक जहाजमाथिको आक्रमण रोक्ने प्रतिबद्धता जनाउन आग्रह गरेको जनाएको छ।

यसैबीच इरानका नयाँ सर्वोच्च नेता मोहताबा खामेनेईले नेतृत्व सम्हालेपछि पहिलो सार्वजनिक सन्देश जारी गर्दै प्रतिशोध लिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनका पिता तथा पूर्व सर्वोच्च नेता अली खामेनेई अमेरिकी–इजरायली युद्धको पहिलो दिन फेब्रुअरी २८ मा भएको हवाई आक्रमणमा मारिएका थिए। उनलाई शुक्रबार गृहसहर मशहदमा अन्त्येष्टि गरिएको थियो।

राज्य टेलिभिजनमार्फत प्रसारित सन्देशमा मोहताबा खामेनेईले शहीदहरूको रगतको बदला लिनु राष्ट्रको चाहना रहेको बताएका छन्। उनले आफू वा अन्य अधिकारीको उपस्थितिमा नभई पनि प्रतिशोध पूरा हुने दाबी गरेका छन्।

अन्त्येष्टिमा सहभागी केही इरानीहरूले अमेरिकी राष्ट्रपति ट्रम्पको हत्या गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेका थिए। ट्रम्पले त्यस्तो कुनै प्रयास भए अमेरिकाले इरानका सबै क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएका छन्।

द वाल स्ट्रिट जर्नलसहित केही अमेरिकी सञ्चारमाध्यमले इजरायलले इरानले ट्रम्पको हत्या गर्ने नयाँ योजना बनाएको सूचना वासिङ्टनलाई दिएको दाबी गरेका छन्। तर ट्रम्पले इरानले कुनै नयाँ हत्या योजना नबनाएको र त्यससम्बन्धी सूचनाको स्रोत इजरायल भएको दाबी अस्वीकार गर्दै आफू धेरै अघिदेखि नै इरानको प्रमुख निशानामा रहेको बताएका छन्।

थप समाचार