काठमाडौं : नवीन तथा व्यवहारिक शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेशनल स्कुल (ठूलोभर्याङ) र स्थानीय सामुदायिक विद्यालय पञ्चकन्या माध्यमिक विद्यालय (छाउनी) बीच सहकार्य भएको छ ।
यस सहकार्यअन्तर्गत पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई संस्कृति इन्टरनेशनल स्कुलको फ्याब ल्याब मा निःशुल्क विशेष कक्षा सञ्चालन गरिनेछ ।
यस कार्यक्रमको औपचारिक शुभारम्भ आइतबार, असार २८ गते २०८३ (जुलाई १२, २०२६) मा पहिलो अन्तरक्रियात्मक कक्षामार्फत गरिएको हो ।
पहिलो कक्षामा विद्यार्थीलाई प्रयोगशालामा अपनाउनुपर्ने सुरक्षा मापदण्डबारे जानकारी दिइएको थियो। त्यसपछि उनीहरूले डिजिटल फेब्रिकेसनका उपकरण प्रयोग गर्दै सिर्जनात्मक डिजाइनसम्बन्धी व्यवहारिक अभ्यास गरेका थिए।
शैक्षिक वर्षभर सञ्चालन हुने यस कार्यक्रममा विद्यार्थीलाई थ्रीडी प्रिन्टिङ, कोडिङ तथा कृत्रिम बौद्धिकता (ब्क्ष्), रोबोटिक्स, फोटोग्राफी, भिजुअल इफेक्ट्स लगायतका क्त्भ्ब्ः (विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित) विषयमा व्यवहारिक सिकाइ प्रदान गरिनेछ । साथै, समुदायलाई उपयोगी हुने विभिन्न परियोजना विकास गर्न पनि विद्यार्थीलाई प्रोत्साहन गरिनेछ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रमका सम्पूर्ण खर्च, आवश्यक सामग्री, अत्याधुनिक फ्याब ल्याबको प्रयोग तथा विशेषज्ञ प्रशिक्षकको व्यवस्था संस्कृति इन्टरनेशनल स्कुलले गर्नेछ। कार्यक्रम पूर्ण रूपमा निःशुल्क हुनेछ ।
शैक्षिक वर्ष २०८३ भर सञ्चालन हुने यस कार्यक्रममा प्रत्येक दोस्रो आइतबार दुई घण्टाको कक्षा सञ्चालन गरिनेछ । यसबाट सामुदायिक विद्यालयका विद्यार्थीले २१औँ शताब्दीका आवश्यक सीप, सिर्जनात्मक सोच तथा व्यवहारिक ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ ।
दुवै विद्यालयले यो गैर–व्यावसायिक सहकार्यबाट सामुदायिक विद्यालयका विद्यार्थीलाई आधुनिक प्रविधिमूलक शिक्षामा सहज पहुँच दिलाउने, डिजिटल विभाजन कम गर्ने तथा नयाँ पुस्ताका नवप्रवर्तक तयार पार्ने विश्वास व्यक्त गरेका छन् ।