काठमाडौं : अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किएको छ। आइतबार साँझ अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेपछि केही घण्टामै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत, जोर्डन र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार आइतबार साँझ अमेरिकी पूर्वी समयअनुसार साँझ ५ बजे (२२ः०० बीएसटी) देखि इरानका दर्जनौं सैन्य लक्ष्यमा आक्रमण सुरु गरिएको थियो। सेन्टकमले पछि जारी गरेको विवरणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय रडार केन्द्र, मिसाइल तथा ड्रोन क्षमतासँग सम्बन्धित विभिन्न सैन्य संरचनाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ।
सेन्टकमले इरानले स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकी सेना अन्तर्राष्ट्रिय व्यापारिक जहाजहरूको स्वतन्त्र आवागमन सुनिश्चित गर्न तयार रहेको जनाएको छ। सेन्टकमका अनुसार इरानको ‘अनुचित आक्रामक गतिविधि, धम्की र एकपक्षीय घोषणाका बाबजुद’ समुद्री मार्ग खुला राख्न आवश्यक तयारी गरिएको छ।
सेन्टकमको प्रारम्भिक घोषणाभन्दा केही मिनेटअघि इरानको सरकारी टेलिभिजनले सिरिक, केश्म, बन्दर अब्बास र जास्क क्षेत्रमा विस्फोट भएका समाचार प्रसारण गरेको थियो।
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार अमेरिकी आक्रमणमा दक्षिणपश्चिमी इरानको खुजेस्तान प्रान्तमा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। खुजेस्तानका सुरक्षा तथा कानुन कार्यान्वयनसम्बन्धी उप-गभर्नर वलिओल्लाह हायातीलाई उद्धृत गर्दै आईआरएनएले उक्त जानकारी दिएको हो।
यसैबीच, पछिल्लो सैन्य तनावका कारण अन्तर्राष्ट्रिय तेल बजारमा पनि प्रभाव परेको छ। सोमबार एसियाली कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य ४.३ प्रतिशतले बढेर प्रतिव्यारेल ७९.२६ अमेरिकी डलर पुगेको छ भने अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य पनि ४.३ प्रतिशतले बढेर ७४.५० अमेरिकी डलर प्रतिव्यारेल पुगेको छ। पछिल्ला महिनाहरूमा इरान–अमेरिका द्वन्द्वसँग सम्बन्धित घटनाक्रमका आधारमा विश्व ऊर्जा बजारमा मूल्यमा उतारचढाव भइरहेको छ।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले विश्वको करिब २० प्रतिशत तेल तथा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी_ ओसारपसार हुने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेको थियो। पछिल्लो मूल्यवृद्धिपछि पनि ब्रेन्ट कच्चा तेलको मूल्य अप्रिल अन्त्यमा पुगेको प्रतिव्यारेल १२० अमेरिकी डलरभन्दा तल नै रहेको छ।
यसअघि शनिबार साँझ सेन्टकमले अमेरिकी सेनाले इरानका १४० वटा सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको थियो। त्यसको जवाफमा आईआरजीसीले अमेरिकी सैन्य अड्डा र उसका क्षेत्रीय साझेदारलाई लक्षित गर्दै व्यापक आक्रमण गरेको जनाएको छ।
इरानले कतार र संयुक्त अरब इमिरेट्स (यूएई) माथि पनि आक्रमण गरेको उल्लेख गरिएको छ। कतार युद्धविराम वार्तामा मध्यस्थकर्ताको भूमिका निभाइरहेको देश हो। यस्तै, जोर्डनमा भएको भनिएको आक्रमणबारे बीबीसीले सेन्टकमसँग प्रतिक्रिया मागेको जनाएको छ।
पछिल्ला घटनाक्रमले गत जुनमा हस्ताक्षर गरिएको अमेरिका–इरान अन्तरिम सम्झौताको भविष्य अनिश्चित बनेको छ। उक्त सम्झौताले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन गर्ने तथा दीर्घकालीन रूपमा द्वन्द्व अन्त्य गर्ने लक्ष्य राखेको थियो।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पछिल्ला आक्रमणपछि युद्धविराम समाप्त भएको बताएका छन्। अर्कोतर्फ, इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाले नै सम्झौताको उल्लङ्घन गरेको आरोप लगाएका छन्। यद्यपि ट्रम्पले वार्ता पूर्ण रूपमा बन्द नभएको र मध्यस्थकर्ताहरूले पुनः वार्ता अघि बढाउने प्रयास गरिरहेको बताएका छन्।
उता, स्ट्रेट अफ होर्मुजको अवस्थाबारे पनि दुवै पक्षबीच फरक-फरक दाबी गरिएको छ। इरानले उक्त सामुद्रिक मार्ग अर्को सूचना नभएसम्म बन्द गरिएको जनाएको छ भने अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुज खुला रहेको र त्यसलाई सञ्चालनमा राख्न आवश्यक कदम चालिएको बताएको छ।