Below Menu

व्यापार खस्किएपछि फक्सवागेनद्वारा विश्वभर एक लाख रोजगारी कटौतीको तयारी

व्यापार खस्किएपछि फक्सवागेनद्वारा विश्वभर एक लाख रोजगारी कटौतीको तयारी

एजेन्सी : जर्मनीको प्रमुख अटोमोबाइल निर्माता फक्सवागेन समूहले विश्वभर अधिकतम १ लाखसम्म रोजगारी कटौती गर्ने योजना बनाएको पुष्टि गरेको छ। यसअघि कम्पनीले सन् २०३० सम्म जर्मनीमा मात्रै करिब ५० हजार रोजगारी कटौती गर्ने योजना सार्वजनिक गरेको थियो। 

तर अहिले समूहका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलिभर ब्लुमले कर्मचारीहरूलाई पठाएको व्यापक रूपमा सार्वजनिक भएको सन्देशमा कम्पनीले थप व्यापक स्तरमा लागत घटाउने तयारी गरिरहेको बताएका छन्।

फक्सवागेन समूहअन्तर्गत फक्सवागेन, पोर्शे, अडी, सिट र स्कोडा लगायतका ब्रान्डहरू सञ्चालनमा छन्। कम्पनीले पछिल्ला वर्षहरूमा प्रमुख बजारहरूमा बिक्री घट्नुका साथै युरोपमा चिनियाँ अटोमोबाइल ब्रान्डहरूको बढ्दो प्रतिस्पर्धाका कारण नाफामा उल्लेखनीय गिरावट व्यहोरेको छ।

कर्मचारीहरूलाई सम्बोधन गर्दै सीईओ ब्लुमले कम्पनीको सञ्चालन लागत प्रतिस्पर्धी कम्पनीहरूको तुलनामा करिब २० प्रतिशत बढी रहेको बताएका छन्। उनले कम्पनीलाई अझ प्रभावकारी, बलियो र सरल बनाउन लागत थप घटाउन आवश्यक रहेको उल्लेख गरेका छन्। उनका अनुसार यसका आधारमा विश्वभर सैद्धान्तिक रूपमा ५० हजार थप रोजगारी कटौती हुन सक्ने अवस्था देखिएको छ।

ब्लुमले कम्पनीले हाल सबै ब्रान्ड, सहायक कम्पनी र विभिन्न क्षेत्रहरूको समीक्षा गरिरहेको जानकारी दिएका छन्। उनले वास्तवमा कति रोजगारी समायोजन आवश्यक र सम्भव हुन्छ भन्ने मूल्याङ्कन भइरहेको बताएका छन्।

त्यसैगरी, कम्पनीले यसअघि बन्द हुने जोखिममा परेका जर्मनीका चार कारखानाको वैकल्पिक प्रयोगबारे कुनै निष्कर्षमा पुग्न नसकेको पनि जनाएको छ। ज्विकाउ र एम्डेनस्थित दुई कारखानामा विद्युतीय सवारी उत्पादन हुँदै आएको छ भने हानोभर र नेकार्सुल्मका अन्य कारखानाहरू पनि सञ्चालन लागत धेरै हुने कारखानाका रूपमा हेरिएका छन्।

फक्सवागेनको सञ्चालन नाफा पछिल्ला वर्षहरूमा निरन्तर घट्दै गएको छ। सन् २०२३ मा कम्पनीले २२.६ अर्ब युरो सञ्चालन नाफा कमाएको थियो। यो रकम सन् २०२४ मा घटेर १९.१ अर्ब युरोमा सीमित भयो भने गत वर्ष झन् घटेर ८.९ अर्ब युरोमा पुगेको छ।

कम्पनीको प्रमुख बजारमध्ये एक चीनमा बिक्रीमा आएको गिरावटले पनि व्यवसायमा ठूलो असर पारेको छ। चालु वर्षको पहिलो छ महिनामा चीनमा कम्पनीको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले घटेको छ। ट्रम्प प्रशासनले आयातित सवारीसाधनमा लगाएको भन्सार शुल्क अमेरिकामा पनि बिक्री ७ प्रतिशतभन्दा बढीले घटेको कम्पनीले जनाएको छ ।  

यसैबीच, चिनियाँ अटोमोबाइल ब्रान्डहरूले कम उत्पादन लागत र नयाँ प्रविधिको सहायताले अन्तर्राष्ट्रिय बजारमा आक्रामक रूपमा विस्तार गरिरहेका छन्। यसले युरोपेली अटोमोबाइल उत्पादकहरूलाई लागत नियन्त्रण गर्न र घट्दो नाफाको दबाब सामना गर्न बाध्य बनाएको छ।

सन् २०२४ को अन्त्यतिर सामूहिक हड्तालको चेतावनीपछि फक्सवागेनले जर्मनीको ट्रेड युनियन आईजी मेटलसँग सम्झौता गर्दै आफ्नै फक्सवागेन ब्रान्डअन्तर्गत सन् २०३० सम्म ३५ हजार रोजगारी ‘सामाजिक रूपमा जिम्मेवार ढंगले’ कटौती गर्ने सहमति गरेको थियो। साथै समूहका अन्य ब्रान्डहरूमा थप १५ हजार रोजगारी हटाउने योजना पनि बनाइएको थियो।

हाल छलफलमा रहेका नयाँ योजनाले यसअघिको कटौती योजनाभन्दा अझ ठूलो परिमाणमा रोजगारी प्रभावित हुन सक्ने संकेत दिएको छ। गत साता कम्पनीको सुपरभाइजरी बोर्डको बैठकअघि जर्मनीभर रहेका फक्सवागेनका विभिन्न कारखानामा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो। बोर्डमा कम्पनी व्यवस्थापनसँगै श्रमिक प्रतिनिधिहरू पनि सहभागी छन्।

 

थप समाचार