काठमाडौं : सहकारी संघहरूलाई वित्तीय कारोबार गर्न कानुनी रूपमा रोक लगाएपछि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) साकोस अभियानको आफ्नै बैंक स्थापना गर्ने तयारीमा जुटेको छ।
नेफ्स्कूनले नीति तथा कार्यक्रममा सहकारी बैंक स्थापना गर्ने योजना समेटेको छ। सोही नीति तथा कार्यक्रमलाई आधार बनाएर असार २८ गते बसेको सञ्चालक समिति बैठकले पाँच सदस्यीय कार्यदल गठन गर्दै सहकारी बैंक स्थापना प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।
बैठकले नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा नेफ्स्कूनका सञ्चालक खेमराज सुवेदी र नवराज अर्याल सदस्य छन्। साथै, प्रदेश तथा जिल्ला संघबाट एक–एक जना प्रतिनिधिलाई पनि सदस्यका रूपमा समेटिनेछ।
सहकारी (पहिलो संशोधन) ऐन, २०८३ ले जिल्ला, प्रदेश र केन्द्रीय सहकारी संघहरूलाई वित्तीय कारोबार गर्न पूर्ण रूपमा रोक लगाउँदै तीन विकल्प दिएको छ। पहिलो, वित्तीय कारोबार राफसाफ, दोस्रो जिल्ला, प्रदेश र केन्द्रीय संघहरूको संयुक्त लगानीमा नयाँ सहकारी बैंक स्थापना गर्ने र तेस्रो, राष्ट्रिय सहकारी बैंकसँग एकीकरण हुने।
नेफ्स्कूनले ऐनले उपलब्ध गराएको पहिलो विकल्प अर्थात् नयाँ सहकारी बैंक स्थापना गर्ने प्रक्रियालाई नेफ्स्कूनले अघि बढाएको हो।
कार्यदलकी संयोजक शान्ति अधिकारीका अनुसार कार्यदलले सहकारी बैंक स्थापनाको सम्भावना, चुनौती र अवसरबारे अध्ययन गरी बैंक गठनको अवधारणापत्र तयार गर्नेछ।
उनले जिल्ला र प्रदेश संघबाट प्रतिनिधि चयन भएपछि कार्यदलले औपचारिक रूपमा काम सुरु गर्ने जानकारी दिइन्।