काठमाडौं : कामना सेवा विकास बैंक गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३.५१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड ७९ लाख ५१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो।
असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड आठ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १२.३२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५.१२ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने ३२.८७ प्रतिशतले बढेको छ।
प्रकाशित वित्तीय विवरण अनुसार यस अवधमिा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ११ लाख १० हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १५ रुपैयाँ १६ पैसा रहेको छ।
यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा भने बढेको छ । गत वर्षको असारसम्ममा ३.४९ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ३.७७ प्रतिशत पुगेको छ । यद्यपी बैंकको इम्पेरिमेन्ट चार्ज भने ४१ करोड ८१ लाख रुपैयाँबाट घटेर १३ करोड ६५ लाख रुपैयाँमा झरेको छ । जसका कारण नाफामा सुधार देखिएको हो ।
असार मसान्तसम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस ३.६७ रुपैयाँ बढेर २२.७५ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १७१.०१ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २०.८४ गुणा रहेको छ।
गत वर्षको चौथो त्रैमाससम्म चार अर्ब २१ करोड १९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा दुई अर्ब ७४ करोड २४ लाख रुपैयाँ रहेको छ ।