हाइटेक्स कार्पेटले गर्यो नौ महिनामा ९३ करोड ८० लाखको कारोबार, नाफा मार्जिन १८ प्रतिशत 

हाइटेक्स कार्पेटले गर्यो नौ महिनामा ९३ करोड ८० लाखको कारोबार, नाफा मार्जिन १८ प्रतिशत 

काठमाडौं : निजी लगानीमा सञ्चालित हाइटेक्स कार्पेट प्रालिले चालु आर्थिक वर्षको नौ महिनामा ९३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ।

कम्पनीले सन् २०२५ मा १ अर्ब २ करोड ९० लाख रुपैयाँ र सन् २०२४ मा ९४ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो।

कम्पनीको सञ्चालन नाफा मार्जिनमा समेत उल्लेख्य सुधार देखिएको छ। सन् २०२५ मा १२.४१ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन चालु आर्थिक वर्षको नौ महिनामा बढेर १८.४४ प्रतिशत पुगेको छ। त्यस्तै, खुद नाफा मार्जिन पनि ०.५६ प्रतिशतबाट बढेर २.९९ प्रतिशत पुगेको छ।

यद्यपि, नयाँ लुम जडान तथा क्षमता विस्तारका कारण कम्पनीको ऋणभार भने बढेको छ। चालु आर्थिक वर्षको नौ महिनामा कम्पनीको समग्र गियरिङ अनुपात २.९० गुणा पुगेको छ । जुन सन् २०२५ मा २.४६ गुणा थियो।

कम्पनीको ब्याज भुक्तानी क्षमता भने केही सुधार भएको छ। सन् २०२५ मा १.५० गुणा रहेको ब्याज भुक्तानी क्षमता चालु आर्थिक वर्षको नौ महिनामा बढेर १.७७ गुणा पुगेको छ। यस अवधिमा कम्पनीको कुल ऋण तथा ग्रस क्यास एक्रुअल्सको अनुपात २१.३५ गुणा रहेको छ।

हाइटेक्स कार्पेटले उत्पादनका लागि आवश्यक पोलिप्रोपाइलिन यार्न, पोलिएस्टर स्पन यार्न, जुट यार्न, लेटेक्स र नाइलनजस्ता कच्चा पदार्थ भारतसहित टर्की, बंगलादेश, इन्डोनेसिया र चीनबाट आयात गर्दै आएको छ। कम्पनीको कुल सञ्चालन आम्दानीमा कच्चा पदार्थको लागत चालु आर्थिक वर्षको नौ महिनामा करिब ७८ प्रतिशत रहेको छ।

पोलिप्रोपाइलिन यार्न, पोलिएस्टर स्पन यार्न, जुट यार्न, लेटेक्स र नाइलनको मूल्य बजारअनुसार परिवर्तन हुने भएकाले कच्चा पदार्थको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफा मार्जिनमा प्रत्यक्ष असर पार्न सक्ने जोखिम रहेको रिपोर्टमा उल्लेख छ।

कम्पनीको कर्पोरेट कार्यालय तथा कारखाना मोरङको विराटनगरमा रहेको छ। कारखाना जोगबनी भन्सार कार्यालयबाट करिब २७ किलोमिटरको दूरीमा रहेकाले भारतबाट कच्चा पदार्थ आयात गर्न तथा भारतका सीमावर्ती क्षेत्रमा उत्पादन बिक्री गर्न कम्पनीलाई भौगोलिक लाभ प्राप्त हुँदै आएको छ।

सन् २०१५ अप्रिल २२ मा स्थापना भएको हाइटेक्स कार्पेटले रग्स तथा कार्पेट उत्पादन गर्दै आएको छ। हाइटेक्स नेपालको पहिलो रग्स र कार्पेट उत्पादन गर्ने कारखाना हो । विराटनगरस्थित उत्पादन केन्द्रको वार्षिक जडित उत्पादन क्षमता ८० लाख वर्गमिटर रहेको छ।

कम्पनीले अल्माया कार्पेट, पलिनो कार्पेट, रोयल कार्पेट, डाइनेस्टी कार्पेट, सुल्तान कार्पेटलगायत विभिन्न ब्रान्डमा आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ।

हाइटेक्स कार्पेटको कुल बैंकिङ सुविधा २ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये १ अर्ब १९ करोड ५० लाख रुपैयाँ दीर्घकालीन बैंक सुविधा र ८० करोड ५० लाख रुपैयाँ अल्पकालीन बैंक सुविधा रहेको छ।

थप समाचार