काठमाडौं : साताको चौथो कारोबार दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.१७ अंकले बढेर २७२६.७२ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १३.९५ अंकले घटेर २७१२.५४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १५३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १११ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा चार अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब १८ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज रिलायन्स स्पिनिङ मिल्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा एभरेष्ट कलर लिमिटेड कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशतले बढेको छ । आज कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।