अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजसम्म विवरण अद्यावधिक गर्नुपर्ने

अब डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोजसम्म विवरण अद्यावधिक गर्नुपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थामार्फत सञ्चालन हुने विद्युतीय वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै वालेट प्रयोगकर्ताको ग्राहक पहिचान (केवाईसी) प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने नयाँ प्रावधान लागू गरेको हो।

संशोधित निर्देशनअनुसार अब भुक्तानी सेवा प्रदायकको अनुमतिपत्रप्राप्त संस्थाले नेपाली नागरिकलाई वालेट खोल्दा राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखका आधारमा परिचयपत्रको विवरण यकीन गरी वालेट खोल्ने व्यवस्था मिलाउनुपर्नेछ । 

यसैगरी, अनुमतिपत्रप्राप्त संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्तासँग राष्ट्रिय परिचयपत्रको विवरण भएरनभएको सम्बन्धमा स्वःघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट सम्बन्धित वालेट योगकर्ताको राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ ।

राष्ट्रिय परिचयपत्र अझै नलिएका नेपाली नागरिकलाई भने परिचयपत्र बनाएर ग्राहक पहिचान विवरण अद्यावधिक गर्न प्रत्येक महिनामा मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट जानकारी गराउनुपर्ने दायित्व पनि सेवा प्रदायकलाई दिइएको छ।

निर्देशनले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि भने केही सहुलियत दिएको छ। विदेशमै बसेर अनलाइनमार्फत विद्युतीय वालेट खोल्नुपर्ने अवस्थामा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न सकिनेछ। तर, त्यस्ता प्रयोगकर्ता नेपाल फर्किएको ३५ दिनभित्र सम्बन्धित संस्थाले राष्ट्रिय परिचयपत्रको विवरण लिएर केवाईसी अद्यावधिक गर्नुपर्नेछ।

त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकका हकमा पनि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर अनिवार्य नहुने व्यवस्था गरिएको छ। उनीहरूले अन्य आवश्यक कागजातका आधारमा वालेट खोल्न तथा कारोबार गर्न सक्नेछन्।

थप समाचार