सानिमा बैंकले कमायो साढे तीन अर्ब नाफा, वितरणयोग्य मुनाफा कति ? 

सानिमा बैंकले कमायो साढे तीन अर्ब नाफा, वितरणयोग्य मुनाफा कति ? 

काठमाडौं : सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार बैंकले यस अवधिमा तीन अर्ब ५५ करोड एक लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

सो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.०१ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले दुई अर्ब ५७ करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा पनि बढेको हो।

असार मसान्तसम्म आइपुग्दा अवधिमा बैंकको खुद ब्याज आम्दानी १० प्रतिशतले बढेर ६ अर्ब ९९ करोड १५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ११.१० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी १३.१३ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने ४४.४४ प्रतिशतले बढेको छ।

प्रकाशित वित्तीय विवरण अनुसार यस अवधमिा बैंकको कुल वितरणयोग्य मुनाफा दुई अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ५० पैसा रहेको छ।

यस अवधिमा आइपुग्दा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको असारसम्ममा ३.०१ प्रतिशत रहेको बैंकको खराब कर्जा घटेर २.८७ प्रतिशत पुगेको छ । यद्यपी बैंकको इम्पेरिमेन्ट चार्ज पनि एक अर्ब ८८ करोड ९१ लाख रुपैयाँबाट घटेर एक अर्ब सात करोड ७७ लाख रुपैयाँमा झरेको छ । जसका कारण नाफामा सुधार देखिएको हो । 

गत वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस अवधिमा बैंकको इपीएस ६.८१ रुपैयाँ बढेर १५.७५ रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १८८.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १३.५९ गुणा रहेको छ।

असार मसान्तसम्म ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरसहित बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ। त्यस्तै बैंकको जगेडा कोषमा १२ अर्ब ८७ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा २ अर्ब ८८ करोड ८२ लाख रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह एक खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर एक खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ।

थप समाचार