काठमाडौं : पछिल्ला वर्षहरुमा नर्भिक इन्टरनेशनल अस्पताल एन्ड मेडिकल कलेज लिमिटेडको व्यापारमा उल्लेखनीय सुधार देखिएको छ । चालु आर्थिक वर्षको नौ महिनामै कम्पनीले दुई अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । सन् २०२५ मा कम्पनीले दुई अर्ब २६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
यसअघि कम्पनीले सन् २०२४ मा कम्पनीले दुई अर्ब ३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा एक अर्ब ९४ करोड रुपैयाँको कारोबार गरेको थियो ।
पछिल्लो तीन वर्षको अवधिमा नर्भिकको आम्दानी औसत करिब ८ प्रतिशत वार्षिक दरले बढेको देखिन्छ। आर्थिक वर्ष २०२५ मा मात्रै कम्पनीको कारोबार अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले वृद्धि भएको छ। स्वास्थ्य सेवाको मागमा भएको वृद्धि, सेवा क्षमताको विस्तार र अस्पतालप्रतिको बढ्दो विश्वासले व्यापार बढेको कम्पनीको भनाइ छ।
आम्दानी वृद्धिसँगै अस्पतालको सञ्चालन नाफा मार्जिनमा पनि सुधार आएको छ। सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२२ मा करिब १९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर २६.६९ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा यो दर अझ बढेर ३२.९१ प्रतिशत पुगेको छ।
कम्पनीको नगद आम्दानीमा पनि उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२२ मा सञ्चालनबाट प्राप्त नगद आम्दानी २३ करोड ७० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०२५ मा बढेर ४१ करोड ९० लाख रुपैयाँ पुगेको थियो।
चालु आर्थिक वर्षको नौ महिनामै यो रकम ४७ करोड १० लाख रुपैयाँ पुगेको छ। सोही अवधिमा कम्पनीको नगद तथा बैंक मौज्दात पनि १२ करोड रुपैयाँबाट बढेर १६ करोड ५० लाख रुपैयाँ पुगेको छ।
अस्पतालमा सेवा लिने बिरामीको संख्या पनि निरन्तर बढिरहेको छ। बाह्य बिरामी (ओपीडी) संख्या आव २०२१ मा ९४ हजार ३३० रहेकोमा आव २०२५ मा बढेर १ लाख ६० हजार ३५१ पुगेको छ।
चालु आवको नौ महिनामा मात्रै १ लाख २७ हजार ४७३ बाह्य बिरामीले सेवा लिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.९ प्रतिशत बढी हो। त्यस्तै, भर्ना हुने बिरामीको संख्या ६ हजार ५९४ पुगेको छ, जुन वार्षिक आधारमा ४.६ प्रतिशतको वृद्धि हो।
अस्पतालको पूँजी संरचनामा समेत सकारात्मक सुधार आएको छ। सेवा विस्तारका लागि ऋण लिए पनि सञ्चित नाफा, प्रवर्द्धकबाट प्राप्त १९ करोड ४४ लाख रुपैयाँ बराबरको नयाँ इक्विटी लगानी र प्रभावकारी वित्तीय व्यवस्थापनका कारण ऋण–इक्विटी अनुपात घटेको छ।
आर्थिक वर्ष २०२४ मा १.९२ गुणा रहेको यो अनुपात आर्थिक वर्ष २०२५ मा १.५० गुणामा झरेको छ भने चालु आर्थिक वर्षको नौ महिनामा १.१७ गुणामा सीमित भएको छ।
त्यस्तै, ब्याज तिर्न सक्ने क्षमता पनि उल्लेखनीय रूपमा सुधार भएको छ। सन् २०२४ मा ५.३९ गुणा रहेको उक्त अनुपात सन् २०२५ मा १०.९० गुणा पुगेको छ भने चालु आवको नौ महिनामा २४.२५ गुणा पुगेको छ।
नर्भिकले हाल सञ्चालनमा रहेको ११६ शय्याको अस्पताललाई विस्तार गरी २७५ शय्यामा पुर्याउने योजना अघि बढाइरहेको छ। विस्तार परियोजनाको लागत विभिन्न कारणले संशोधन हुँदै पछिल्लो अनुमानअनुसार ३ अर्ब ३२ करोड २० लाख रुपैयाँ पुगेको छ। यसअघि परियोजनाको अनुमानित लागत ३ अर्ब २१ करोड २० लाख रुपैयाँ रहेको थियो।
अप्रिल १३, २०२६ सम्म संशोधित लागतको करिब ५८ प्रतिशत खर्च भइसकेको छ। यस अवधिसम्म सिभिल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने अत्याधुनिक स्वास्थ्य उपकरण खरिद तथा जडानको काम पनि तीव्र रूपमा अघि बढिरहेको कम्पनीले जनाएको छ।
सुरुमा सन् २०२६ अप्रिलको मध्यदेखि विस्तारित अस्पताल सञ्चालन गर्ने लक्ष्य राखिएको थियो। तर परियोजनाको दायरा विस्तार, राजनीतिक अस्थिरता, निर्वाचनका कारण निर्माण कार्यमा आएको सुस्तता तथा विदेशबाट स्वास्थ्य उपकरण आयातमा देखिएका आपूर्ति शृंखला समस्याका कारण सञ्चालन समय केही पछाडि धकेलिएको छ। अहिले विस्तारित अस्पताल सन् २०२७ जनवरीको मध्यदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
परियोजनाका लागि आवश्यक एक अर्ब ८७ करोड ६० लाख ऋणको व्यवस्था भइसकेको छ भने बाँकी वित्तीय स्रोत जुटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ।
सन् १९९३ मा स्थापना भएको नर्भिक इन्टरनेशनल अस्पताल एन्ड मेडिकल कलेज लिमिटेड नेपालकै पुराना र स्थापित बहुविशेषज्ञ तृतीयस्तरका अस्पतालमध्ये एक हो। कम्पनी सन् २०२१ जुलाई सार्वजनिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। हाल काठमाडौंको थापाथलीस्थित अस्पताल चौधरी ग्रुप (सीजी) अन्तर्गत सञ्चालन भइरहेको छ।
कम्पनीमा चौधरी ग्रुपसँग आबद्ध बीएलसी होल्डिङ्स प्रालिको करिब ३४ प्रतिशत शेयर स्वामित्व रहेको छ। बीएलसी होल्डिङ्सले कृषि, शिक्षा, एफएमसीजी, प्याकेजिङ, स्वास्थ्य सेवा लगायत विभिन्न क्षेत्रमा लगानी विस्तार गरेको छ। बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका अध्यक्ष बसन्त कुमार चौधरीको नर्भिकमा करिब ४९ प्रतिशत स्वामित्व रहेको छ।
अस्पतालको दीर्घकालीन बैंकिङ सुविधा २ अर्ब ५५ करोड ७५ लाख १० हजार रुपैयाँबाट बढेर २ अर्ब ७४ करोड ३९ लाख ३० हजार रुपैयाँ पुगेको छ। अल्पकालीन कर्जा सुविधा भने ६ करोड ३९ लाख रुपैयाँबाट घटेर ५ करोड ८ लाख ५० हजार कायम भएको छ।
कम्पनीले कुल बैंकिङ कर्जा सुविधा दुई अर्ब ६२ करोड १४ लाख १० हजारबाट बढेर २ अर्ब ७९ करोड ४७ लाख ८० हजार रुपैयाँ पुगेको छ।