सहकारीको डिजिटल सहयात्री ‘एम बैंक’ : नवप्रवर्तन, विकास र विश्वासको ११ वर्षे यात्रा

सहकारीको डिजिटल सहयात्री ‘एम बैंक’ : नवप्रवर्तन, विकास र विश्वासको ११ वर्षे यात्रा

काठमाडौं : समयसँगै प्रविधि बदलिन्छ । सेवा दिने शैली बदलिन्छ अनि ग्राहकका अपेक्षा पनि। तर, परिवर्तनको यो यात्रामा सबैभन्दा महत्वपूर्ण कुरा हो विश्वास । यही विश्वासलाई आधार बनाएर सहकारी क्षेत्रसँग निरन्तर अघि बढिरहेको कम्पनी हो एमबैंक टेक्नोलोजी प्रा.लि. । 

सहकारीको डिजिटल रूपान्तरणलाई आफ्नो लक्ष्य बनाउँदै सुरु भएको मोबाइल बैंकिङ प्ल्याफर्म ‘एम बैंक’ आज १० वर्ष पूरा गरेर ११औं वर्षमा प्रवेश गरेको छ । यो यात्रा केवल एउटा प्रविधि कम्पनीको व्यवसायिक विस्तार मात्रै होइन, सहकारी क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्ने निरन्तर प्रयासको कथा पनि हो ।

एक दशकअघि अधिकांश सहकारीको कारोबार परम्परागत शैलीमै सञ्चालन हुन्थ्यो । सदस्यले पासबुक अद्यावधिक गर्न कार्यालय धाउनुपर्ने, खाताको विवरण बुझ्न घण्टौँ कुर्नुपर्ने र डिजिटल कारोबारको पहुँच निकै सीमित थियो । त्यतिबेला सहकारी क्षेत्रमा मोबाइल बैंकिङ भन्ने अवधारणा नै नयाँ थियो । यस्तै चुनौतीलाई अवसरका रूपमा देख्दै एमबैंकले सहकारीका लागि विशेष डिजिटल समाधान विकास गर्ने अभियान सुरु गर्यो।

सञ्जय महासेठ (कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक) ले बैंकिङ र सूचना प्रविधिको अनुभवलाई सहकारी क्षेत्रको आवश्यकतासँग जोडेर कम्पनी स्थापना गरे । भारतीय आईटी कम्पनीमा काम गर्दाको अनुभवले नेपाली सहकारी क्षेत्रका लागि विशेष प्रविधि समाधान विकास गर्न सकिने सम्भावना देखेपछि उनले आफ्नै कम्पनी सुरु गरे । प्रारम्भमा फरक कम्पनीको नामबाट सुरु भएको कम्पनीले आफ्नो प्रमुख उत्पादन ‘एमबैंक’ लोकप्रिय बन्दै गएपछि कम्पनीको पहिचान पनि त्यही नामबाट स्थापित गर्यो ।

सुरुआतमा मोबाइल बैंकिङ सेवामार्फत सदस्यलाई आफ्नै मोबाइलबाट बचत, ऋण, खाताको विवरण तथा अन्य वित्तीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको कम्पनीले विस्तारै आफ्नो सेवा र प्रविधिको दायरा फराकिलो बनाउँदै गयो । 

आज एमबैंक छ सयभन्दा बढी सहकारी, लघुवित्त तथा वित्तीय संस्थाको डिजिटल साझेदार बनेको छ । यसको सेवा सातै प्रदेशका साना किसान सहकारीदेखि बचत तथा ऋण, बहुउद्देश्यीय सहकारीसम्म पुगेको छ । १० वर्ष अघि एउटा सानो सपना आज ६ सयभन्दा बढी सहकारी र ४ लाख बढी प्रयोगकर्ता एकबैंकको डिजिटल यात्रामा जोडिएको कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठ बताउँछन् ।

सहकारीको आवश्यकतालाई केन्द्रमा राखेर सेवा विकास गर्नु एम बैंकको विशेषता बनेको छ । यसको पछिल्लो उदाहरण हो एचआर पेरोल म्यानेजमेन्ट सिस्टम (गोरखा एचआर) । सहकारीका प्रमुख कार्यकारी अधिकृतहरू (सीईओ)ले कर्मचारी व्यवस्थापनलाई व्यवस्थित बनाउने डिजिटल प्रणालीको आवश्यकता औँल्याएपछि कम्पनीले आफ्नै अनुभवलाई उत्पादनमा रूपान्तरण गर्याे । 

कर्मचारीको हाजिरी, बिदा, तलब–भत्ता, कर, सामाजिक सुरक्षा कोष, सञ्चय कोषलगायत सम्पूर्ण मानव संसाधन व्यवस्थापनलाई एउटै प्रणालीमा समेट्ने यो समाधान अहिले सहकारीसँगै बैंक, लघुवित्त, फाइनान्स कम्पनी तथा अन्य निजी संस्थाले समेत प्रयोग गर्न सक्ने गरी विकास गरिएको कम्पनीको भनाई छ ।

मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फमलाई पनि एमबैंकले सहकारीलाई नयाँ अनुभव दिएको छ । बैंक ट्रान्सफर, क्यूआर भुक्तानी, सहकारी खातामै रेमिट्यान्स प्राप्त गर्ने सुविधा तथा डिजिटल कारोबारलाई सहज बनाउने विभिन्न सेवाले सहकारी सदस्यको दैनिकीलाई परिवर्तन गरेको छ ।

पछिल्ला वर्षहरूमा नेपालमा डिजिटल कर्जाप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको सीमा १० लाख रुपैयाँसम्म पु¥याएको छ । राष्ट्र बैंको यही नीतिलाई आत्मसात् गर्दै एमबैंकले पनि आफ्नो डिजिटल प्लेटफर्ममार्फत सहकारी सदस्यलाई अधिकतम १० लाख रुपैयाँसम्मको डिजिटल कर्जा लिन सकिने सुविधा विकास गरेको महासेठ बताउँछन् । यसले सदस्यलाई सानो व्यवसाय विस्तार, आकस्मिक आर्थिक आवश्यकता वा अन्य उत्पादनशील कामका लागि शाखामा पटक–पटक धाउनुपर्ने झन्झटबाट मुक्त गर्दै मोबाइलमार्फतै सहज र छिटो सेवा प्राप्त गर्ने वातावरण सिर्जना गरेको उनको भनाई छ ।

एमबैंकको सोच केवल मोबाइल बैंकिङमा सीमित छैन । कम्पनीले आफूलाई एउटा ‘समग्र डिजिटल इकोसिस्टम’ निर्माण गर्ने प्रविधि साझेदारका रूपमा विकास गरिरहेको छ । मोबाइल बैंकिङ, डकुमेन्ट म्यानेजमेन्ट, लोन म्यानेजमेन्ट, एचआर, डिजिटल पेमेन्ट लगायतका सेवालाई एउटै प्लेटफर्ममा जोड्ने लक्ष्यसहित कम्पनीले नयाँ–नयाँ समाधान विकास गरिरहेको छ । भविष्यमा एउटै लगइनमार्फत विभिन्न सेवा सञ्चालन गर्न सकिने एकीकृत प्रणाली विकास गर्ने योजना पनि कम्पनीको रहेको प्रबन्ध निर्देशक महासेठ बताउँछन् ।

कम्पनीको सफलता केवल प्रडक्टमा मात्र निर्भर हुँदैन, त्यसको सेवा र ग्राहकप्रतिको प्रतिबद्धतामा पनि भर पर्छ । एमबैंकले ५० भन्दा बढी दक्ष प्राविधिक जनशक्तिमार्फत सातै दिन ग्राहकलाई सेवा दिँदै आएको छ । बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस), प्राविधिक सहयोग र ग्राहकका सुझावलाई सुधारको आधार बनाउने कार्यशैलीले कम्पनीलाई सहकारी क्षेत्रको विश्वासिलो प्रविधि साझेदार बनाएको छ ।

धनगढीस्थित नवजीवन सहकारी पहिलो ग्राहक बनेको कम्पनी आज देशभर फैलिएको डिजिटल नेटवर्क निर्माण गर्न सफल भएको छ । केही दिन अघि मात्रै झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) ले ‘एमबैंक’ प्रयोग सुरु गरेको छ ।

सहकारी क्षेत्रमा पछिल्ला वर्ष देखिएका समस्या र चुनौतीले प्रविधि कम्पनीहरूलाई पनि असर पक्कै गरेको छ । केही सहकारी निष्क्रिय हुँदा सेवाको दायरा प्रभावित भए पनि डिजिटल प्रविधिको आवश्यकता भने झन् बढ्दै गएको महासेठको बुझाइ छ । पारदर्शी कारोबार, प्रभावकारी व्यवस्थापन र सदस्यलाई छिटो सेवा दिन अब डिजिटल प्रणाली अपरिहार्य बन्दै गएको उनको निष्कर्ष छ ।

११ वर्षको यात्राले एमबैंकलाई केवल मोबाइल बैंकिङ सेवा प्रदायक कम्पनीको रूपमा मात्र चिनाएको छैन । यसले सहकारी क्षेत्रको डिजिटल रूपान्तरणमा विश्वासिलो सहयात्री, नवप्रवर्तनको संवाहक र संस्थागत सुशासनलाई प्रविधिमार्फत बलियो बनाउने साझेदारको रूपमा आफ्नो पहिचान निर्माण गरेको छ ।

दोस्रो दशक (११ औं वर्ष) मा प्रवेशसँगै कम्पनीको लक्ष्य अझ फराकिलो छ । सहकारीसँगै बैंक, लघुवित्त, वित्तीय संस्था तथा अन्य व्यवसायका लागि एकीकृत डिजिटल समाधान विकास गर्दै नेपालको वित्तीय क्षेत्रलाई थप प्रविधिमैत्री बनाउने योजनाका साथ एम बैंक अघि बढिरहेको महासेठको भनाई छ ।

थप समाचार