नेप्से सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

नेप्से सीईओका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरिएको छ।

अर्थ मन्त्रालयद्वारा गठित सिफारिस समितिले मंगलबार सार्वजनिक सूचना जारी गर्दै आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको हो। सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दर्ता गरिसक्नुपर्नेछ।

समितिले आवेदन साउन २६ गते कार्यालय समयभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा बुझाउनुपर्ने जनाएको छ। आवेदनसँग उम्मेदवारले तोकिएको शैक्षिक योग्यता, कार्यअनुभव तथा अन्य आवश्यक कागजातसमेत पेश गर्नुपर्नेछ।

खुला प्रतिस्पर्धामार्फत नेप्सेको नेतृत्व चयन गरी प्रक्रिया थप पारदर्शी, प्रतिस्पर्धात्मक र योग्यतामा आधारित बनाउने उद्देश्य रहेको अर्थ मन्त्रालयले जनाएको छ।

प्राप्त आवेदनको अध्ययन, योग्यता मूल्याङ्कन र अन्तर्वार्तापछि सिफारिस समितिले योग्य उम्मेदवारको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। त्यसपछि सरकारले अन्तिम निर्णय गर्दै नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछ।

देशको पूँजी बजार सञ्चालन गर्ने प्रमुख संस्थाको नेतृत्व चयन प्रक्रिया सुरु भएसँगै लगानीकर्ता तथा वित्तीय क्षेत्रको ध्यान नेप्सेको नयाँ नेतृत्वतर्फ केन्द्रित भएको छ।

थप समाचार