काठमाडौं : शिशुका डायपर उत्पादन गर्ने ब्रजेश्वरी इन्डस्ट्रिज प्रालिले एक वर्षमा करिब ६० करोडको कारोबार गरेको छ । कम्पनीले सन् २०२५ मा ५९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार गरेको हो ।
उक्त रकम अघिल्लो वर्षको तुलनामा १२.८० प्रतिशतले बढी हो । कम्पनीको सन् २०२४ मा ५३३ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । यसअघि कम्पनीले सन् २०२३ मा ३८ करोड ७० लाखको कारोबार गरेको थियो । पछिल्ला वर्षहरुमा कम्पनीको कारोबार निरन्तर रुपमा बढ्दै गएको छ ।
कम्पनीको उत्पादन बिक्री बढेका कारण कारोबारमा सुधार आएको कम्पनीले जनाएको छ । व्यापार बढेपनि बढ्दो सञ्चालन खर्चका कारण नाफामा केही दबाब परेको छ। यद्यपि, विनिमय दरमा आएको उतारचढावका कारण आयात लागत, ढुवानी तथा अन्य सञ्चालन खर्च बढ्दा कम्पनीको नाफा मार्जिन प्रभावित भएको कम्पनीले जनाएको छ ।
सन् २०२४ मा १७.५४८ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा १३.०९ प्रतिशतमा झरेको छ । कम्पनीको नाफा मार्जिन ९ करोड ३० लाख रुपैयाँबाट घटेर ७ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ।
कम्पनीको नगद आम्दानीमा पनि सुधार देखिएको छ । सन् २०२४ मा २ करोड ८४ लाख ८० हजार रुपैयाँ रहेको नगद आम्दानी बढेर सन् २०२५ मा २ करोड ९५ लाख ८० हजार रुपैयाँ पुगेको छ ।
सन् २०२५ मा कम्पनीको ओभरअल गियरिङ अनुपात ३.५६ गुणा पुगेको छ । जुन अघिल्लो वर्ष ३.४४ गुणा थियो। यस्तै, ब्याज तिर्न सक्ने क्षमता सुधार भएर १.६१ गुणा पुगेको छ ।
सन् २०१८ मा स्थापना भएको ब्रजेश्वरी इन्डस्ट्रिजको केन्द्रीय कार्यालय काठमाडौंको सुबिधानगरमा रहेको छ भने उत्पादन उद्योग नवलपरासी (रामग्राम) मा सञ्चालनमा छ।
नवलपरासीको रामग्रामस्थित उद्योगबाट कम्पनीले ‘न्यानो’ र ‘टेन्डर टच’ ब्रान्डका शिशु डायपर, वयस्क डायपर र वेट वाइपहरू उत्पादन गर्दै आएको छ । कम्पनीको उत्पादन क्षमता प्रतिमिनेट ४८० वटा डायपर रहेको छ।
कम्पनी ब्रजेश्वरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनीका अध्यक्ष शत्रुघन प्रसाद ढकाल रहेका छन्।
कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि ६६ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २८ करोड १७ लाख चार हजार रुपैयाँ र अल्पकालिन कर्जाका लागि ३८ करोड रुपैयाँको रेटिङ गराएको हो ।