जावलाखेल डिस्टिलरीले नौ महिनामा बेच्यो एक अर्ब २३ करोड रुपैयाँको मदिरा  

जावलाखेल डिस्टिलरीले नौ महिनामा बेच्यो एक अर्ब २३ करोड रुपैयाँको मदिरा  

काठमाडौं : जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित जावलाखेल डिस्टिलरी प्रालिको कारोबार पछिल्ला वर्षमा उतारचढावपूर्ण देखिएको छ। कम्पनीले गत आर्थिक वर्षको नौ महिनामा एक अर्ब २३ करोड ३० लाख रुपैयाँ बराबरको मदिरा बिक्री गरेको छ।

कम्पनीको व्यापार सन् २०२५ मा एक अर्ब ६४ करोड ५० लाख रुपैयाँ पुगेको थियो भने सन् २०२४ मा एक अर्ब १० करोड रुपैयाँमा सीमित भएको थियो। 

यसअघि सन् २०२३ मा दुई अर्ब १२ करोड ९० लाख, सन् २०२२ मा दुई अर्ब आठ करोड ५० लाख तथा सन् २०२१ मा दुई अर्ब ६७ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो।

सन् २०२४ मा आर्थिक मन्दी र बजारको सुस्तताका कारण कम्पनीको आम्दानी करिब ४८ प्रतिशतले घटेको थियो। त्यसपछि सन् २०२५ मा आम्दानी करिब ५० प्रतिशतले वृद्धि भएको थियो। बिक्री बढेसँगै कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार आएको छ। 

सन् २०२४ मा नकारात्मक रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा २७ प्रतिशत पुगेको थियो भने गत आर्थिक वर्षको नौ महिनामा ३१ प्रतिशत पुगेको छ।

हाल कम्पनीको ऋण सेवा कवरेज अनुपात चार गुणा, ब्याज कवरेज अनुपात ७।५ गुणा तथा कुल ऋण र ट्यान्जिबल नेटवर्थको अनुपात १।९ गुणा रहेको छ। कम्पनीको सञ्चालन नाफा वार्षिक ब्याज खर्चभन्दा ७।५ गुणा बढी रहेको उल्लेख गरिएको छ।

कम्पनीका प्रमुख उत्पादन ब्लु डायमण्ड जिन, रुस्लान भोड्का, काला पत्थर तथा रुस्लान आइस टी हुन्। ब्लु डायमण्ड जिन कम्पनीको प्रमुख आम्दानीको स्रोतका रूपमा रहेको छ। 

सन् २०२५ मा यस ब्रान्डले कम्पनीको कुल आम्दानीको करिब ६५ प्रतिशत योगदान दिएको थियो भने आर्थिक वर्ष २०२४ मा यसको हिस्सा करिब ७८ प्रतिशत रहेको थियो। कम्पनीले पछिल्लो समय रुस्लान आइस टीमार्फत रेडी–टु–ड्रिंक ९आरटीडी० मदिरा बजारमा पनि प्रवेश गरेको छ।

सन् २०२५ मा सञ्चालन आम्दानीको करिब ३० प्रतिशत रहेको नेट वर्किङ क्यापिटल अनुपात बढेर ६८ प्रतिशत पुगेको छ। कम्पनीले राष्ट्रिय वितरकमार्फत हुने बिक्री प्रणाली हटाएर सन् २०२६ को सुरुदेखि प्रत्यक्ष वितरण प्रणाली लागू गरेपछि व्यापारिक बक्यौता र गोदाममा रहेको मौज्दात बढेको उल्लेख गरिएको छ।

कम्पनीसँग करिब २२ करोड २० लाख रुपैयाँ अर्थात् स्वीकृत बैंक ऋण सीमाको २१ प्रतिशत बराबर थप ऋण उपयोग गर्न सकिने क्षमता रहेको जनाइएको छ। यद्यपि अन्य कम्पनीहरूलाई उपलब्ध गराइएको अग्रिम रकम फिर्ता ल्याउनुपर्ने अवस्था, बढ्दो व्यापारिक बक्यौता तथा मौज्दातका कारण आगामी दिनमा कार्यशील पुँजीका लागि थप बैंक ऋण आवश्यक पर्न सक्ने उल्लेख गरिएको छ।

सन् २०२४ मा कठिन वित्तीय अवस्थाका बेला प्रवर्द्धकबाट लिइएको ब्याजरहित ऋण कम्पनीले फिर्ता गरिसकेको छ। त्यसको स्थानमा बैंक ऋण बढेपछि ऋण भार केही बढे पनि नाफामा सुधार आएकाले ऋण भुक्तानी क्षमता बलियो बनेको जनाइएको छ। 

सन् २०२५ मा कम्पनीको कुल ऋण सेवा कवरेज अनुपात ५.२ गुणा पुगेको थियो भने गत आवको यस अवधिमा ४।४ गुणा कायम रहेको छ। अघिल्लो वर्ष यो एक गुणाभन्दा निकै तल रहेको थियो। त्यस्तै, आर्थिक वर्ष २०२४ मा करिब ३.८ गुणा रहेको कुल ऋण तथा मूर्त सम्पत्तिको अनुपात आर्थिक वर्ष २०२५ मा घटेर १.८ गुणामा झरेको छ।

सन् २०१३ मा स्थापना भएको जावलाखेल डिस्टिलरी प्रालि यसअघि (विजय डिस्टिलरी प्रालि)का नामले परिचित थियो। चार दशकभन्दा बढी अनुभव भएको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित कम्पनीले लुम्बिनी प्रदेशको परासीस्थित उत्पादन केन्द्रबाट मदिराको ब्लेन्डिङ र बोटलिङ गर्दै आएको छ।

कम्पनीले हाल नेपालभर २४० भन्दा बढी डिलरमार्फत आफ्ना उत्पादन वितरण गर्दै आएको छ। कम्पनीको सम्पूर्ण स्वामित्व समूहका अध्यक्ष विजयकुमार शाहसँग रहेको छ।

कम्पनीले बैंकिङ कर्जा सुविधाका लागि कुल एक अर्ब ३४ करोड ७० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ। कम्पनीले दीर्घकालिन कर्जाका लागि ४७ करोड २० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ८७ करोड ५० लाख रुपैयाँ सीमा रहेको छ। 


 

थप समाचार