करदाता प्रोत्साहन उपहार कार्यक्रम, भुक्तानी सेवा प्रदायकहरूलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम, भुक्तानी सेवा प्रदायकहरूलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं : नेपाल राष्ट्र बैंकले आन्तरिक राजश्व विभागद्वारा सञ्चालन हुन लागेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ प्रभावकारी रूपमा कार्यान्वयन गर्न भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थालाई आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ।

राष्ट्र बैंकले बिहीबार जारी गरेको परिपत्रअनुसार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिप्राप्त सबै संस्थाले कार्यक्रम सञ्चालनका लागि आवश्यक विद्युतीय प्रणालीबीच अन्तरआवद्धता कायम गरी सेवाग्राहीलाई सहज पहुँच उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ।

यसैगरी, सबै पीएसपीहरूले आफ्नो मोबाइल एपमा ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सम्बन्धी बारम्बार सोधिने प्रश्न (एफएक्यु) समेटिएको छुट्टै खण्ड राख्नुपर्नेछ, जसबाट सेवाग्राहीले कार्यक्रमबारे आवश्यक जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

राष्ट्र बैंकले साउन १६ गते सबै पीएसपीहरूले आफ्ना ग्राहकलाई मोबाइल एपमार्फत सूचना पठाई कार्यक्रम साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी गराउन पनि निर्देशन दिएको छ। कार्यक्रममा सहभागी हुन मोबाइल एप अद्यावधिक (अपडेट) गर्नुपर्ने भए त्यससम्बन्धी सूचना समेत ग्राहकलाई अनिवार्य रूपमा पठाउन भनिएको छ।

सरकारले विद्युतीय भुक्तानीको प्रयोग विस्तार गर्दै करदातालाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (प्यान)मा आबद्ध व्यवसायबाट रु. १०० वा सोभन्दा बढीको वस्तु वा सेवा खरिद गरी अनलाइन वा नगद भुक्तानी गरेर सक्कली बिल लिने उपभोक्ता उपहार योजनामा सहभागी हुन सक्नेछन्।

कार्यविधिअनुसार हरेक महिनाको १ र १६ गते विजेता छनोट गरिनेछ। पाक्षिक बम्पर उपहारअन्तर्गत एक जना विजेताले रु. १० लाख प्राप्त गर्नेछन् भने दैनिक रूपमा छनोट हुने एक जना विजेतालाई रु। १ लाख ३३ हजार ३३३ प्रदान गरिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले करदाताको सहभागिता वृद्धि गर्न तथा विद्युतीय भुक्तानी प्रणालीमार्फत कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सबै व्यवस्था समयमै कार्यान्वयन गर्न अनुमतिप्राप्त संस्थाहरूलाई आग्रह गरेको छ।

थप समाचार