बाढी-पहिरोको क्षतिले रिडी पावरको ९.९ मेगावाटको इवा खोला आयोजनाको उत्पादन बन्द

बाढी-पहिरोको क्षतिले रिडी पावरको ९.९ मेगावाटको इवा खोला आयोजनाको उत्पादन बन्द

काठमाडौं : रिडी पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित ९.९ मेगावाट क्षमताको इवा खोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ। 

कम्पनीले बाढी, पहिरो र नदी कटानका कारण आयोजनाको मुख्य संरचनामा गम्भीर क्षति पुगेपछि गत असार २९ गतेदेखि आयोजना सञ्चालन स्थगित गरिएको जनाएको हो।

कम्पनीका अनुसार गत जेठदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण हेडरेस पाइपलाइन रहेको क्षेत्रमा नदी कटान भएको छ। त्यसबाट पाइपलाइनका आधार संरचना (एङ्कर ब्लक, पाइप सपोर्टलगायत) तथा अन्य सिभिल संरचनामा उल्लेखनीय क्षति पुगेको छ।

निरन्तरको वर्षा र पहिरोका कारण पाइपलाइनमुनिको जमिनमा समेत भूस्खलन र भुःक्षय भएको कम्पनीले जनाएको छ। यसबाट पाइपलाइनमा अत्यधिक दबाब सिर्जना हुँदा विभिन्न स्थानमा पाइप फुट्ने तथा चिरा पर्ने समस्या देखिएको छ।

कम्पनीले आवश्यक मर्मत तथा परीक्षण कार्य सम्पन्न गरी आयोजना पुनः सञ्चालनमा ल्याउने प्रयास गरे पनि परीक्षणका क्रममा फेरि विभिन्न स्थानमा पाइपलाइनमा क्षति देखिएको जनाएको छ। सामान्य मर्मत वा वेल्डिङबाट मात्र आयोजना सुरक्षित रूपमा सञ्चालन गर्न नसकिने निष्कर्षपछि आयोजना बन्द गर्ने निर्णय गरिएको कम्पनीको भनाइ छ।

हाल स्थायी समाधानका लागि आवश्यक प्राविधिक अध्ययन, अवलोकन तथा मर्मत कार्य अघि बढाइएको कम्पनीले जनाएको छ। आयोजना पुनः सञ्चालन हुने निश्चित मिति तय भएपछि त्यससम्बन्धी जानकारी अर्को आधिकारिक सूचनामार्फत सार्वजनिक गरिने कम्पनीले उल्लेख गरेको छ।

थप समाचार