काठमाडौं : काठमाडौंको लाजिम्पाटमा पाँचतारे होटल ‘दुसित प्रिन्सेस’ सञ्चालन गर्दै आएको होटल ल्हासा इन्टरनेसनल प्रालिले सन् २०२६ को ११ महिनामा ४० करोड २० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको छ।
होटलले सन् २०२५ मा ४३ करोड ४७ लाख रुपैयाँ र सन् २०२४ मा ३३ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।
होटलको सञ्चालन आम्दानीसँगै सञ्चालन नाफामा पनि सुधार देखिएको छ। सन् २०२४ मा करिब ४ करोड रुपैयाँ रहेको सञ्चालन नाफा सन् २०२५ मा बढेर १२ करोड २० लाख रुपैयाँ पुगेको थियो। सञ्चालन नाफा मार्जिनसमेत सन् २०२४ को ११.९४ प्रतिशतबाट बढेर सन् २०२५ मा २७.९९ प्रतिशत पुगेको थियो।
सन् २०२६ को ११ महिनामा होटलले ४० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानीसहित २९.३० प्रतिशत सञ्चालन नाफा मार्जिन कायम गरेको छ।
कोठा बिक्री तथा खाद्य तथा पेय पदार्थबाट हुने आम्दानीमा भएको वृद्धिले होटलको सञ्चालन नाफामा सुधार आएको रिपोर्टमा उल्लेख छ। यद्यपि सञ्चालन नाफा बढे पनि होटल अझै खुद नाफामा पुग्न सकेको छैन।
होटल निर्माण तथा पूँजीगत खर्चका लागि ठूलो परिमाणमा ऋण लिइएको र त्यसमा उच्च ब्याज खर्च तथा ह्रासकट्टीको भार रहेकाले कम्पनीको खुद नाफा नकारात्मक रहेको छ। सन् २०२४, २०२५ तथा सन् २०२६ को ११ महिनासम्म कम्पनीले खुद नाफा हासिल गर्न नसकेको रेटिङ रिपोर्टमा उल्लेख छ।
होटलको बैंक ऋण भने केही घटेको छ। होटल ल्हासा इन्टरनेसनलको दीर्घकालीन बैंक सुविधा २ अर्ब १ करोड ९० लाख रुपैयाँमा झरेको छ। यसअघि यस्तो सुविधा २ अर्ब ८ करोड ४७ लाख रुपैयाँ थियो ।
त्यस्तै, अल्पकालीन बैंक सुविधा ६ करोड ७७ लाख रुपैयाँबाट घटेर ५ करोड १० लाख रुपैयाँमा कायम गरिएको छ। जसअनुसार कम्पनीको कुल बैंकिङ सुविधा २ अर्ब २ करोड ४० लाख रुपैयाँ रहेको छ।
ऋणभारमा आएको कमी कम्पनीको वित्तीय अनुपातमा पनि देखिएको छ। सन् २०२५ मा ३.९१ गुणा रहेको कुल गियरिङ अनुपात सन् २०२६ को ११ महिनामा घटेर २.९७ गुणामा आएको छ। कुल दायित्व तथा नेटवर्थको अनुपात पनि ४.०९ गुणाबाट घटेर ३.०९ गुणामा झरेको छ।
यद्यपि, कम्पनीको ऋण तिर्ने क्षमता अझै दबाबमा रहेको रिपोर्टमा उल्लेख छ । कम्पनीको ऋण सेवा कभरेज अनुपात एक गुणाभन्दा कम रहेको छ ।
ब्याज भुक्तानी क्षमता भने क्रमिक रूपमा सुधार हुँदै गएको छ। ब्याज कभरेज अनुपात सन् २०२४ मा ०.२० गुणा रहेकोमा सन् २०२५ मा ०.६२ गुणा र सन् २०२६ को ११ महिनामा ०.८३ गुणा पुगेको छ।
होटलको अकुपेन्सी दरमा पनि पछिल्ला वर्षमा सुधार देखिएको छ। सन् २०२४ मा करिब ३९ प्रतिशत रहेको औसत कोठा अकुपेन्सी सन् २०२५ मा बढेर करिब ५३ प्रतिशत पुगेको थियो। सन् २०२६ को यस अवधिमा होटलको औसत अकुपेन्सी ५२ प्रतिशत रहेको छ।
होटल ल्हासा इन्टरनेसनल प्रालि सन् २०१३ डिसेम्बर १५ मा स्थापना भएको हो। करिब २ हजार ५५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको होटलमा १०७ वटा कोठा छन्।
कम्पनीले काठमाडौंको लाजिम्पाटमा अन्तर्राष्ट्रिय आतिथ्य समूह दुसित इन्टरनेसनल अन्तर्गत ‘दुसित प्रिन्सेस’ ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्दै आएको छ। होटलले सन् २०२३ जुलाईदेखि पूर्ण रूपमा व्यावसायिक सञ्चालन सुरु गरेको हो।
दुसितले विश्वका १८ देशमा करिब २९० होटल, रिसोर्ट तथा लक्जरी भिल्ला सञ्चालन गर्दै आएको छ। समूहका नौवटा ब्रान्डअन्तर्गत ११ हजार ८०० भन्दा बढी कोठा रहेका छन्।
यसैबीच, होटल परिसरमै क्यासिनो सञ्चालनको तयारी भइरहेको छ। क्यासिनो सन् २०२७ को सुरुवातदेखि सञ्चालनमा आउने जनाइएको छ। होटल ल्हासा इन्टरनेसनलमा डोर्जे ग्याल्त्सेन लामाको करिब ४९ प्रतिशत शेयर स्वामित्व रहेको छ। उनी कम्पनीका अध्यक्ष पनि हुन् ।