Below Menu

अब होस्टेलमा ‘हरियो स्टिकर’, दर्ता रोकिँदा समस्यामा व्यवसायी

अब होस्टेलमा ‘हरियो स्टिकर’, दर्ता रोकिँदा समस्यामा व्यवसायी

काठमाडौं : घरबाट टाढा अध्ययन गरिरहेका विद्यार्थीका लागि होस्टेल बस्ने ठाउँ मात्र होइन, उनीहरूको विद्यार्थी जीवनको ‘अर्को घर’ बन्ने गरेको छ। 

सुरक्षित बसाइ, सुद्ध खाना, अनुशासन, अध्ययनको वातावरणदेखि बिरामी पर्दा हेरचाहसम्म होस्टेल सञ्चालकको जिम्मेवारीमा पर्ने गरेको छ। त्यसैले यो क्षेत्रलाई सामान्य व्यवसायभन्दा फरक रूपमा हेर्नुपर्ने आवाज उठेको छ।

होस्टेल व्यवसायी संघ नेपालको चौथो वार्षिकोत्सव तथा रक्तदान कार्यक्रममा सहभागी वक्ताहरूले होस्टेल व्यवसायलाई नाफा कमाउने व्यवसायका रुपमा नभई विद्यार्थीको सुरक्षा, अनुशासन र भविष्यसँग प्रत्यक्ष जोडिएको जिम्मेवार सेवामूलक व्यवसायका रुपमा बुझिदिन अनुरोध गरेका छन्। 

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख दीपक अधिकारीले समेत होस्टेल सञ्चालन गर्नु सामान्य व्यवसाय नभएको बताए। ‘होस्टेल व्यवसाय भनेको कम जिम्मेवार पेशा होइन,’ अधिकारीले भने, ‘घर छोडेर आएका विद्यार्थी बालबालिकालाई सुरक्षित आश्रय दिने, अनुशासनमा राख्ने र उनीहरूको भविष्य निर्माणमा सहयोग गर्ने सेवा हो।’

उनले होस्टेल व्यवसायीले विद्यार्थीलाई गुणस्तरीय सेवा उपलब्ध गराएर त्यसअनुसार शुल्क लिन सक्ने बताए। तर व्यवसाय सञ्चालन गर्दा निर्धारित मापदण्ड र जिम्मेवारी पालना गर्नुपर्ने उनको भनाइ थियो।

दर्ता रोकिँदा समस्यामा व्यवसायी

काठमाडौं महानगरपालिकाले विगत तीन वर्षदेखि होस्टेल दर्ता रोकेका कारण व्यवसायी समस्यामा परेको गुनासोप्रति अधिकारीले महानगर संवेदनशील रहेको बताए। विशेषगरी महानगरले तोकेको २०० मिटरको मापदण्डका कारण समस्या देखिएको भन्दै उनले त्यसबारे पुनरावलोकनको तयारी भइरहेको जानकारी दिए।

‘२०० मिटरको मापदण्डका कारण केही समस्या भएको छ। यसमा पुनर्विचार गरेर दशैं अगावै दर्ता सुरु गर्ने तयारी छ,’ अधिकारीले भने।

उनले होस्टेल व्यवसायमा लाग्ने बहाल करका विषयमा पनि गम्भीर छलफल भइरहेको बताए। तीन तहबीचको करसम्बन्धी विषयलाई व्यवस्थित गर्ने प्रयास भइरहेको उनको भनाइ थियो।

४०-५० जनाबाट ८ सय व्यवसायी

होस्टेल व्यवसायी संघ नेपालका अध्यक्ष किरण शर्माले चार वर्षअघि ४०–५० जना व्यवसायीबाट सुरु भएको संघ अहिले करिब ८ सय व्यवसायीको परिवारमा विस्तार भएको बताए। उनले होस्टेल बाहिरबाट हेर्दा सामान्य व्यवसायजस्तो देखिए पनि यसको सामाजिक भूमिका निकै ठूलो रहेको बताए।

‘हामीले व्यवसाय गरेका छौं, तर लाखौं विद्यार्थीलाई सुरक्षित आश्रय पनि दिएका छौं,’ शर्माले भने, ‘घर छोडेर भविष्य बनाउन हिँडेका विद्यार्थीका लागि होस्टेल अर्को घर हो। उनीहरूको अनुशासन, सुरक्षा र भविष्यसँग हाम्रो काम जोडिएको छ।’

महानगरमा होस्टेल दर्ता प्रक्रिया रोकिँदा सयौं व्यवसायी कानुनी तथा वैधानिक समस्यामा परेको उनले बताए। व्यवसायलाई नियमनसहित वैधानिक बाटो खोल्न उनले महानगरसँग आग्रह गरे।

‘खोला थुन्ने होइन, तटबन्ध बनाउने हो’

संघका वरिष्ठ उपाध्यक्ष भीम भण्डारीले केही होस्टेलमा देखिएका कमजोरीका आधारमा समग्र व्यवसायलाई एउटै नजरले हेर्न नहुने बताए। ‘एउटा डालोमा दुई–चार वटा मकै कुहिएको भन्दैमा सबै मकै खराब हुँदैनन्,’ भण्डारीले भने, ‘धेरै होस्टेल राम्रा व्यवस्थापन, जिम्मेवारपूर्ण र स्वास्थ्यवर्द्धक ढंगले सञ्चालन भइरहेका छन्।’

खराब अभ्यास नियन्त्रण गर्न दर्ता नै बन्द गर्नु समाधान नभएको उनको भनाइ थियो।

‘खोला थुनेर होइन, तटबन्ध निर्माण गरेर समस्याको समाधान गर्नुपर्छ,’ उनले भने, ‘वैधानिकता रोकिदिने होइन, नियमन गर्ने हो।’

तर व्यवसायीले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने उनले बताए। होस्टेल सञ्चालन गर्दा सुरक्षा, सरसफाइ, खाना, अनुशासन र विद्यार्थीमैत्री वातावरणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।

अब होस्टेलमा ‘हरियो स्टिकर’

संघले होस्टेल व्यवसायलाई थप व्यवस्थित बनाउन मापदण्ड पूरा गर्ने होस्टेलमा ‘हरियो स्टिकर’ राख्ने अभियान अघि बढाउने घोषणा गरेको छ। भण्डारीका अनुसार संघले तोकेको मापदण्ड पूरा गरेका होस्टेलमा केही दिनभित्रै हरियो स्टिकर राखिनेछ। यसले विद्यार्थी र अभिभावकलाई व्यवस्थित तथा मापदण्ड पूरा गरेका होस्टेल पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ।

त्यसैगरी अव्यवस्थित र लथालिंग ढंगले सञ्चालन भइरहेका होस्टेललाई संघको सदस्यता नदिने पनि संघले जनाएको छ। यसो गर्ना संघले व्यवसायीको अधिकारसँगै उनीहरूको जिम्मेवारीलाई समेत प्राथमिकतामा राख्न खोजेको बताइएको छ।

रक्तदानदेखि सांगीतिक प्रस्तुति 

संघको चौथो वार्षिकोत्सव व्यवसायीका समस्या र आगामी योजनाबारे छलफलमा मात्र सीमित रहेन। वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा करिब ३० जनाले रक्तदान गरे।

कार्यक्रममा गायक बद्री पंगेनीले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए। उनको सांगीतिक प्रस्तुतिका क्रममा सहभागी समे उठेर नाचेका थिए। त्यस्तै, संघसँग सहकार्य गर्दै आएको एभरेष्ट हस्पिटल, बानेश्वरले संघमा आबद्ध सदस्यका लागि होलबडी चेकअपमा ५० प्रतिशत छुट दिने घोषणा गरेको थियो।


होस्टेल व्यवसायलाई प्रायः कोठा, खाना, शुल्क र बसाइको सुविधाका रुपमा मात्रै हेर्ने गरिए पनि कार्यक्रममा यस व्यवसायको सामाजिक जिम्मेवारीबारे पनि वहस भएको थियो। काठमाडौंलगायत विभिन्न सहरमा अध्ययनका लागि आउने हजारौं विद्यार्थी परिवारबाट टाढा बस्छन्। उनीहरूको दैनिक जीवनमा होस्टेल सञ्चालक तथा कर्मचारीको भूमिका अभिभावकको जस्तै बन्न पुग्छ।

समयमै खाना उपलब्ध गराउनेदेखि सुरक्षित बसाइ, बिरामी पर्दा हेरचाह, अध्ययनका लागि उपयुक्त वातावरण, अनुशासन कायम गर्ने र आवश्यक पर्दा अभिभावकसँग समन्वय गर्ने जिम्मेवारी पनि होस्टेलसँग जोडिएको हुन्छ।

त्यसैले होस्टेल व्यवसायको मुख्य प्रश्न केवल ‘दर्ता खुल्छ कि खुल्दैन?’ भन्नेमा सीमित छैन। मुख्य प्रश्न हो—घरबाट टाढा भविष्य खोजिरहेका विद्यार्थीलाई सुरक्षित ‘अर्को घर’ प्रदान गर्ने यो क्षेत्रलाई कसरी व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउने?

थप समाचार