Below Menu

राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्थामा सुधार, खुद नाफा ४९ करोड २४ लाख

राष्ट्रिय सहकारी बैंकको वित्तीय अवस्थामा सुधार, खुद नाफा ४९ करोड २४ लाख

काठमाडौं : राष्ट्रिय सहकारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्ममा वित्तीय सूचकहरूमा उल्लेख्य सुधार गरेको छ।

बैंकले सार्वजनिक गरेको लेखापरीक्षण नभएको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ४९ करोड २४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंक ६ करोड २१ लाख रुपैयाँभन्दा बढी नोक्सानीमा रहेको थियो।

बैंकको कुल सम्पत्ति करिब ५० अर्ब पुगेको छ। समीक्षा अवधिमा सहकारी संस्थाहरूलाई प्रदान गरिएको कर्जा तथा सापट करिब ११ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बैंकको नगद तथा नगद समान, नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात तथा अन्य वित्तीय सम्पत्तिसमेत उल्लेख्य रहेको वित्तीय विवरणमा देखिन्छ।

बैंकको कुल दायित्व तथा पुँजी पनि करिब ५० अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। ग्राहक तथा अन्य निक्षेपतर्फ बैंकले ४६ अर्ब रुपैयाँभन्दा बढी स्रोत परिचालन गरेको छ। बैंकको सेयर पुँजी करिब २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित कोषसहित बैंकको पुँजी आधार थप बलियो बनेको छ।

वित्तीय विवरणअनुसार बैंकको कुल सञ्चालन आम्दानी करिब १ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये खुद ब्याज आम्दानी, शुल्क तथा कमिसन आम्दानी र अन्य सञ्चालन आम्दानीको योगदान रहेको छ।

बैंकको खुद ब्याज आम्दानी करिब ५९ करोड रुपैयाँ पुगेको छ। शुल्क तथा कमिसनबाट समेत आम्दानी भएको छ भने अन्य सञ्चालन आम्दानी पनि बैंकको आम्दानी वृद्धिको महत्वपूर्ण आधार बनेको छ।

समीक्षा अवधिमा कर्जा तथा अन्य नोक्सानीको जोखिम व्यवस्थासमेत समायोजन गरिएको छ। जोखिम व्यवस्थापछि बैंकको खुद सञ्चालन आम्दानी उल्लेख्य रूपमा सकारात्मक रहेको छ।

बैंकको सञ्चालन खर्चतर्फ कर्मचारी खर्च, अन्य सञ्चालन खर्च तथा ह्रासकट्टी/परिशोधन खर्च रहेका छन्। खर्च व्यवस्थापनमा समेत सुधार भएपछि सञ्चालन नाफा बढ्न पुगेको वित्तीय विवरणले देखाएको छ।

चौथो त्रैमाससम्म बैंकको करअघिको नाफा ६६ करोड रुपैयाँभन्दा बढी पुगेको छ। आयकर तथा अन्य समायोजनपछि बैंकले ४९ करोड २४ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको हो।

बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ७५ पैसा पुगेको छ। अघिल्लो त्रैमासमा यस्तो आम्दानी निकै न्यून रहेकोमा चौथो त्रैमासमा उल्लेख्य वृद्धि भएको हो। गत वर्षको सोही अवधिमा भने बैंकको प्रति सेयर आम्दानी ऋणात्मक थियो।

बैंकको पुँजीकोष अनुपात ११.६६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ३२.२६ प्रतिशत, निष्क्रिय कर्जाको शुद्ध अनुपात ९५.३३ प्रतिशत र पूँजीको लागत ०.६२ प्रतिशत रहेको छ।

वित्तीय विवरणअनुसार बैंकले विगतको नोक्सानी समायोजन गर्दै विभिन्न कोष तथा व्यवस्थामा रकम छुट्याएको छ। सामान्य जगेडा कोष, संस्थागत सामाजिक उत्तरदायित्व कोषलगायतका शीर्षकमा समेत रकम विनियोजन गरिएको छ।

बैंकले सहकारी संस्थाहरूको बचत परिचालन तथा कर्जा आवश्यकतालाई केन्द्रमा राखेर सेवा दिँदै आएको छ।