काठमाडौं : नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
राष्ट्र बैंकका अनुसार अभियोगपत्र दायर भएको जानकारी प्राप्त भएपछि बैंकको सञ्चालन तथा व्यवस्थापन अवस्थाबारे नजिकबाट अनुगमन भइरहेको छ। साथै, विद्यमान कानुनी व्यवस्थाका आधारमा आवश्यक राय-सुझाव लिने तथा सम्बन्धित पक्षसँग छलफल गर्ने कार्यसमेत भइरहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले हाल बैंकको तरलता अवस्था तथा वित्तीय सबलतासँग सम्बन्धित प्रमुख सूचकहरू आफूले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेको स्पष्ट पारेको छ। त्यसैले बैंकको दैनिक कार्य सञ्चालनमा तत्काल कुनै किसिमको जटिलता उत्पन्न हुने अवस्था नरहेको राष्ट्र बैंकको भनाइ छ।
काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बैंकको दैनिक सञ्चालनको अवस्था, मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यलाई समेत ध्यानमा राखी राष्ट्र बैंकले थप छलफल तथा कानुनी राय लिने जनाएको छ।
त्यसपछि प्रचलित कानुनबमोजिम बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा समग्र बैंक सञ्चालनका सम्बन्धमा आवश्यक कदम चालिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।