काठमाडौं : अपर तामाकोशी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले ९२ करोड ५९ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिलो वर्षसम्म तीन अर्ब ६८ करोड रुपैयाँ नोक्सानीमा रहेको कम्पनी पहिलो पटक नाफामा गएको हो । असार मसान्तसम्म आइपुग्दा विद्युत बिक्री आम्दानी बढेपछि हाइड्रोपावर नाफामा गएको हो ।
साथै वित्तीय खर्च घटेका कारण पनि कम्पनी नाफामा जान सकेको हो । यस अवधिमा कम्पनीको लागत खर्च ५ अर्ब ६३ करोड १४ लाख रुपैयाँबाट घटेर ५ अर्ब १५ करोड २२ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको आम्खदानी बढेसँगै सञ्चालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ । यस अवधिमा कम्पनीको सञ्चालन नाफा करिब २१८ प्रतिशतले बढेर ६ अर्ब ८ करोड तीन लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस्तो नाफा एक अर्ब ९१ करोड १९ लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै कम्पनीको वित्तीय आम्दानी २४ करोड ७४ लाख ७८ हजार रुपैयाँबाट बढेर एक अर्ब ३९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको प्रशासनिक तथा परियोजना खर्च पनि ९६ करोड ८८ लाखबाट घटेर ६३ करोड ५० लाख रुपैयाँमा आएको छ ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी १० अर्ब ६६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । जबकी अघिल्लो वर्ष कम्पनीले विद्युत् बिक्रीबाट ६ अर्ब ९२ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यस अवधमिा कम्पनीको प्रतिशेयर आम्दानी ४.३७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ४४ रुपैयाँ ४८ पैसा छ ।
असार मसान्तसम्म आइपुग्दा २१ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन्ड अर्निङ १२ अर्ब ६३ करोड ५३ लाख ऋणात्मक रहेको छ । कम्पनीको कुल इक्विटी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालीन ऋण ६७ अर्ब ९ करोड ६३ लाख रुपैयाँ रहेको छ