Below Menu

कर्जा असुली सुस्त बन्दा बैंकहरू दबाबमा, प्रभु बैंकको खराब कर्जा १५ प्रतिशतमाथि  

कर्जा असुली सुस्त बन्दा बैंकहरू दबाबमा, प्रभु बैंकको खराब कर्जा १५ प्रतिशतमाथि  

काठमाडौं : आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकहरूले करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस अवधिमा ६९ अर्ब ८५ करोड ७० लाख रुपैयाँ नाफा कमाएका हुन् । 

उक्त नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.०१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकहरुले ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

यस अवधिमा बैंकहरूको खराब कर्जा (एनपीएल) पनि बढेको छ। प्रकाशित तथ्यांकअनुसार २० वाणिज्य बैंकको औसत खराब कर्जा आर्थिक वर्ष २०८१/८२ मा ४.६०१ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर ५.४३९ प्रतिशत पुगेको छ। बैंकहरुको एनपीएल १८ प्रतिशतले बढेको छ । 

जसमध्ये प्रभु बैंकको खराब कर्जा सबैभन्दा बढी १५.५५ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष बैंकको खराब कर्जा ७.०१ प्रतिशत थियो। यस अवधिमा प्रभु बैंकको खराब कर्जा ८.५४ प्रतिशत बिन्दुले बढेको छ।

खराब कर्जा उच्च हुनेमा प्रभुपछि एनआईसी एशिया बैंकको ९.२६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत, हिमालयन बैंकको ७.९६ प्रतिशत र कुमारी बैंकको ७.४६ प्रतिशत रहेका छन्। प्राइम कमर्सियल बैंकको खराब कर्जा ६.६९ प्रतिशत तथा सिटिजन्स इन्टरनेसनल बैंकको ५.८८ प्रतिशत रहेको छ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको खराब कर्जा ५.२३ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.९६ प्रतिशत, एनएमबी बैंकको ४.९१ प्रतिशत, नबिल बैंकको ४.२० प्रतिशत र नेपाल बैंकको ४.१८ प्रतिशत रहेको छ। कृषि विकास बैंकको ४.०७ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.९८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत खराब कर्जा रहेको तथ्यांकमा उल्लेख छ।

एभरेस्ट बैंकको खराब कर्जा भने सबैभन्दा कम ०.४९ प्रतिशत रहेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत, सानिमा बैंकको २.८७ प्रतिशत, नेपाल एसबीआई बैंकको २.९२ प्रतिशत र सिद्धार्थ बैंकको ३.५३ प्रतिशत खराब कर्जा रहेको छ।

अघिल्लो वर्षको तुलनामा खराब कर्जा घटाउने बैंकमध्ये नेपाल एसबीआई बैंक अगाडि छ। बैंकको एनपीएल ३.३५ प्रतिशतबाट घटेर २.९२ प्रतिशतमा आएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको १.४१ प्रतिशतबाट बढेर २.०३ प्रतिशत, एभरेष्ट बैंकको ०.३८ प्रतिशतबाट बढेर ०.४९ प्रतिशत र माछापुच्छ्रे बैंकको ३.९६ प्रतिशतबाट बढेर ३.९८ प्रतिशत पुगेको छ।

यता प्रति शेयर आम्दानी (ईपीएस) मा एभरेस्ट बैंक सबैभन्दा अगाडि रहेको छ। बैंकको ईपीएस ३६.९५ रुपैयाँ छ। नेपाल बैंकको ३०.६३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २९.१४ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २८.४० रुपैयाँ, नबिल बैंकको २८.३६ रुपैयाँ र कुमारी बैंकको २८.१७ रुपैयाँ ईपीएस रहेको छ।

सानिमा बैंकको ईपीएस २५.७५ रुपैयाँ, सिद्धार्थ बैंकको २३.०६ रुपैयाँ, एनएमबी बैंकको २०.१८ रुपैयाँ र प्राइम कमर्सियल बैंकको १९.६३ रुपैयाँ रहेको छ। नेपाल एसबीआई बैंकको १८.०४ रुपैयाँ, माछापुच्छ्रे बैंकको १७.४९ रुपैयाँ तथा ग्लोबल आईएमई बैंकको १६.३४ रुपैयाँ ईपीएस रहेको छ।

प्रभु बैंकको प्रतिशेयर आम्दानी भने ऋणात्मक रुपैयाँ रहेको छ। त्यसपछि एनआईसी एशिया बैंकको १.२२ रुपैयाँ, हिमालयन बैंकको ६.५६ रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.०५ रुपैयाँ रहेको छ।