Below Menu

साउनमा पौने दुई खर्बको आयात हुँदा ६१ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे एक खर्ब  

साउनमा पौने दुई खर्बको आयात हुँदा ६१ प्रतिशतले बढ्यो निर्यात, व्यापार घाटा साढे एक खर्ब  

काठमाडौं : चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो साउन महिनामा नेपालले पौने दुई खर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार साउन मसान्तसम्म नेपालले एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको हो ।

गत वर्षको तुलनामा आयात ३१.०४ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ४३ अर्ब ४ करोड ६ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । 

यस अवधिमा नेपालले ३८ खर्ब ७७ करोड ४१ लाख ४६ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । गत वर्षको निर्यात व्यापार ६१.७२ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा नेपालले २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । 

चालु आवको पहिलो महिनामा सवा दुई खर्बको वैदेशिक व्यापारमा नेपालले एक खर्ब ४८ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत वर्षको तुलनामा व्यापार घाटा २४.८८ प्रतिशतले बढेको छ । गत वर्ष नेपालले एक खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार ३५.४४ प्रतिशतले बढेको छ । साउन मसातसम्म नेपालले दुई खर्ब २६ अर्ब १४ करोड ७७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत वर्ष मुलुकले एक खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।  

यस अवधिमा नेपालले १०७ देशसँगको वैदेशिक व्यापार गरेको छ । जसमध्ये २० देशसँगको व्यापार नाफामा छ भने ८७ देशसँगको व्यापार घाटामा रहेको छ ।