Below Menu

जनउत्थान साकोसद्वारा बाढी प्रभावितका लागि ८ लाख रुपैयाँ सहयोग घोषणा

जनउत्थान साकोसद्वारा बाढी प्रभावितका लागि ८ लाख रुपैयाँ सहयोग घोषणा

काठमाडौं : रुपन्देहीस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

संस्थाले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) मार्फत उक्त सहयोग उपलब्ध गराउने जनाएको हो। प्राकृतिक प्रकोपबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले विभिन्न स्रोतबाट रकम संकलन गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष गिरीप्रसाद पुनले जानकारी दिए। 

संस्थाको सञ्चालक समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। संस्थाको साधारण सभाले विपत्तिको समयमा सहयोग गर्न सदस्यको खाताबाट रकम झिकेर सहयोग गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई दिएको थियो। सोही अख्तियारीअनुसार हरेक सदस्यको खाताबाट १० रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष पुनले बताए।

सहयोगअन्तर्गत ४५ हजार शेयर सदस्यबाट प्रतिव्यक्ति १० रुपैयाँका दरले ४ लाख ५० हजार रुपैयाँ, संस्थाका समिति तथा उपसमितिका पदाधिकारीबाट एक दिनको भत्ताबापत १ लाख रुपैयाँ, संस्थाको तर्फबाट १ लाख ५५ हजार रुपैयाँ र कर्मचारीबाट एक दिनको तलबबापत १ लाख रुपैयाँ सहयोग गरिने संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर थापाले जानकारी दिए।

संस्थाले विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग घोषणा गरेको जनाएको छ। सहयोग रकम नेफ्स्कूनमार्फत सम्बन्धित बाढी प्रभावित क्षेत्रमा परिचालन गरिने संस्थाले स्पष्ट पारेको छ।

थप समाचार