Below Menu

सहयात्री सहकारीको मानवीय सहकार्य : बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

सहयात्री सहकारीको मानवीय सहकार्य : बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग

काठमाडौं : सहकारीको मूल मर्म नै सदस्यसँगै समुदाय र समाजको सुख–दुःखमा सहकार्य गर्नु हो। यही मानवीय भावना र सहकारीका सिद्धान्तलाई आत्मसात् गर्दै नयाँ बानेश्वर स्थित सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १ लाख ११ हजार २३५ रुपैयाँ सहयोग गरेको छ।

रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नागरिकले भोग्नुपरेको जनधनको क्षति, विस्थापन तथा दैनिक जीवनयापनमा उत्पन्न कठिनाइप्रति सहयात्रीले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यो घडीमा प्रभावित नागरिकको साथमा उभिनु मानवीय दायित्वसँगै सहकारीको सामाजिक उत्तरदायित्व पनि भएको संस्थाका अध्यक्ष खेमराज सुवेदीले बताए।

सहकारी संस्था केवल आर्थिक कारोबार गर्ने संस्था नभई सदस्य, समुदाय र समग्र समाजको हितमा काम गर्ने सामाजिक संस्था पनि भएको सुवेदीको भनाइ छ। ‘सहकारीका सिद्धान्त कागजमा लेखिएका विषय मात्र होइनन्, संकटका बेला एकअर्काको साथमा उभिएर व्यवहारमा देखाउने विषय हुन्,’ उनले भने, ‘विपद्को यो घडीमा प्रभावित नागरिकको पीडामा मल्हम लगाउन सक्नु नै सहकारी भावनाको वास्तविक अर्थ हो।’

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार, राष्ट्रिय सहकारी महासंघ तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आह्वानप्रति प्रतिबद्धता जनाउँदै संस्थाले उक्त रकम प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा योगदान गरेको हो।

संस्थाको सञ्चालक समितिको निर्णयअनुसार सहयात्रीका सदस्य, कर्मचारी तथा सञ्चालक र लेखा समितिका तर्फबाट रकम संकलन गरी सहयोग गर्न लागिएको अध्यक्ष सुवेदीले बताए।

अध्यक्ष सुवेदीले सहकारीको वास्तविक शक्ति नाफा वा आर्थिक कारोबारमा मात्र नभई समुदायप्रतिको उत्तरदायित्व र मानवीय संवेदनामा रहेको बताए। ‘आज विपद्मा परेको नागरिकलाई सहयोग गर्नु भनेको भोलि हाम्रो आफ्नै समुदायलाई बलियो बनाउनु हो। सहकारी भनेकै साझा दुःखमा साझा साथ र साझा समस्यामा साझा समाधान खोज्ने अभियान हो,’ उनले भने।

संस्थाले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रको यथाशीघ्र पुनर्निर्माण र पुनःस्थापनाको कामना गरेको छ।

सहयात्रीले आफ्ना सदस्य तथा परिवारका सदस्य विपद्बाट प्रभावित भएको भए संस्थालाई जानकारी गराउनसमेत अनुरोध गरेको छ। साथै, सहकारी अभियानसँग आबद्ध संघ–संस्था, सामाजिक संघसंस्था तथा सम्पूर्ण नेपालीलाई आ–आफ्नो सामर्थ्यअनुसार बाढीपहिरो प्रभावित नागरिकको सहयोगमा जुट्न आह्वान गरेको छ।

‘सहकारीको पहिचान कारोबारबाट मात्र होइन, संकटमा समुदायको साथमा उभिने व्यवहारबाट पनि हुन्छ’ भन्ने सन्देशसहित सहयात्रीले मानवीय सहयोगको हात अघि बढाएको हो।

थप समाचार