काठमाडौं : भदौ १० गते भोटेकोशी क्षेत्रमा गएको बाढी–पहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीर रहेको जनाउँदै बुध्द एयरले आफ्नो हवाई भाडादरमा कुनै परिवर्तन नगरेको जनाएको छ।
बुध्द एयरले यात्रुहरूलाई टिकट खरिद गर्नुअघि आफ्नो वेबसाइट वा मोबाइल एपमार्फत हवाई भाडादर ‘सर्च’ गर्न अनुरोध गरेको छ। कम्पनीका अनुसार वेबसाइट तथा मोबाइल एपमा यसअघि जस्तै सहज र सुलभ भाडादर उपलब्ध छ।
कम्पनीले भैरहवा, पोखरा र भरतपुरका लागि नियमित अतिरिक्त उडानसमेत सञ्चालन गरिरहेको जनाएको छ। वेबसाइट तथा मोबाइल एपमार्फत टिकट खरिद गर्दा यात्रुले थप रु। ३०० छुट पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यस्तै, राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि गृह मन्त्रालयको निर्णयअनुसार निःशुल्क व्यवस्था गरिएको बुध्द एयरले जनाएको छ। बाटोघाटो सहज नभएसम्म आफ्नो भाडादर यथावत् रहने कम्पनीको भनाइ छ।
वर्तमान विषम परिस्थितिमा व्यावसायिक चुनौती आए पनि यात्रुलाई सहज र सुलभ भाडादर उपलब्ध गराउन प्रतिबद्ध रहेको बुध्द एयरले जनाएको छ। कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा कम्पनीलाई सूचित गर्न यात्रुहरूलाई आग्रह गर्दै त्यस्ता गतिविधिविरुद्ध नियमानुसार आवश्यक तथा कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ।