काठमाडौं : नेपाल टेलिकमले वाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूको सेवा पुनः सञ्चालनमा तिव्रता दिएको छ । भदौ ११ गते हेलिकप्टरबाट कर्मचारीहरु परिचालन गरी गोसाईंकुण्ड गाउँपालिका ६ मा अवस्थित रसुवा सदरमुकाम धुन्चेमा मोबाइल स्टेशन सञ्चालनमा ल्याइएको छ ।
साथै भदौ १२ गते सवेरै देखि नेपाल टलिकमका प्राविधिकहरु रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित क्षेत्रमा मोबाइल सेवा पुनः सञ्चालन हुन बाँकी रहेका स्थानहरुमा सेवा सञ्चालन गर्न तथा सञ्चालनमा आइसकेका टावरहरुलाई थप भरपर्दो बनाउन निरन्तर कार्यक्षेत्रमा खटिइरहेका छन् ।
सो क्रममा रसुवा जिल्लामा बाढीका कारण बन्द भएको गोसाईंकुण्ड गाउँपालिका ५ मा अवस्थित गोलजुङ टावर (बाहुनडाँडा) सञ्चालनमा ल्याई स्याफ्रुबेसी, पार्वतीकुण्ड गाउँपालिका वडा नं ४, ५ तथा गोसाईंकुण्ड गाउँपालिका वडा नं ३, ५ तथा स्याफ्रुबेसी–टिम्मुरे राजमार्गका केही भागमा सेवा सुचारू भएको छ ।
नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका वडा नं ३ मा अवस्थित गेर्खु मोबाइल टावर सञ्चालनमा आई विदुर नगरपालिकाको वडा नं १०, ११ तथा सूर्यगढी गाउँपालिका वडा नं ४ का केही भागमा दूरसञ्चार सेवा सुचारू भएको छ ।
यसका साथै भदौ १२ गते विदुर नगरपालिका–८ मा अवस्थित तुप्चे टावर तथा गोसाईंकुण्ड गाउँपालिका वडा नं २, टिम्मुरे माथिको डाँडामा अवस्थित टेलिकम टावरमा हेलिकप्टरबाट जेनेरेटर, पेट्रोल तथा प्राविधिकहरु खटाई सेवा सुचारु गर्ने क्रममा रहेको छ ।
सो क्रममा भदौ १० गतदेखि नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरु रसुवा जिल्लाको न्यौपानेचौर, राम्चे, गोल्जुङ र धुन्चे स्टेशनमा अनवरत खटिई बाढी प्रभावित स्थानहरुमा अनवरत सेवा सञ्चालन गराइराखेका छन् ।
यसै गरी हाल सम्म रसुवा, नुवाकोट, धादिङ जिल्लाका बाढी प्रभावित १२० साइटहरु मध्ये ८० साइहरुमा सेवा सुचारू भइसकेको छ ।
विपद्को यस अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन नेपाल टेलिकमले सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । यसबाट सम्बन्धित सबै सेवाग्राहीलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहयोग पुग्ने कम्पनीको विश्वास छ ।