Below Menu

रसुवा बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत–पुनर्स्थापना कार्यक्रम

रसुवा बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत–पुनर्स्थापना कार्यक्रम

काठमाडौं : चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय कार्यक्रम घोषणा गरेका छन्। 

कार्यक्रमअन्तर्गत तत्कालीन राहतदेखि अस्थायी आवास, स्थायी पुनर्निर्माण तथा दीर्घकालीन जनस्वास्थ्य पूर्वाधार निर्माणसम्मका काम अघि बढाइने भएको छ।

पहिलो चरणमा बाढी प्रभावित परिवारलाई खाद्यान्न, तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल, व्यक्तिगत सरसफाइका सामग्री, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराइँदैछ। राहत सामग्री भदौ ११ गतेदेखि प्रभावित क्षेत्रमा पुर्‍याउन थालिएको फाउन्डेसन र बैंकले जनाएका छन्। 

स्थानीय प्रशासनसँगको सहकार्यमा रसुवा र नुवाकोटमा एक–एक गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिनेछ। शिविरमा प्रभावित नागरिकलाई दैनिक भोजन, स्वच्छ खानेपानी, सरसफाइ तथा बालबालिकाका लागि सुरक्षित स्थानको व्यवस्था गरिनेछ।

त्यस्तै, धुलिखेल अस्पतालसँगको सहकार्यमा प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा तथा रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। बाढीपछि फैलिन सक्ने संक्रामक रोगको जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य सेवासँगै रोकथाम तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। 

बाढीका कारण घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य भएका परिवारका लागि ५०० वटा अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। सरकार तथा स्थानीय तहसँगको सहकार्यमा निर्माण गरिने यी आवास स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित बसोबास उपलब्ध गराउने उद्देश्यले निर्माण गरिनेछ।

पुनर्स्थापनाको अर्को चरणमा प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने योजना छ। दीर्घकालीन रूपमा धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने योजना पनि अघि सारिएको छ। 

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले तत्कालीन प्राथमिकता प्रभावित परिवारको जीवन रक्षा गर्दै खाना, आवास र स्वास्थ्य सेवा सुनिश्चित गर्नु रहेको बताएका छन्। उनले राहतमा मात्र सीमित नभई अस्थायी आवास, स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्मको यात्रामा साझेदारी कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

फाउन्डेसन र बैंकले नेपाल सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरी सबैभन्दा बढी प्रभावित तथा जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पारदर्शी र प्रभावकारी रूपमा पुर्‍याउने जनाएको छ।

साथै, बाढी प्रभावितको उद्धार तथा तत्काल राहतका लागि नेपाल सरकारले गरेको सक्रिय पहलप्रति चौधरी फाउन्डेसन र नबिल बैंकले आभार व्यक्त गरेका छन्। 

थप समाचार