Below Menu

उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

उद्धारका लागि आयल निगमद्वारा ४० हजार लिटरभन्दा बढी हवाई इन्धन र ग्यास सहयोग

काठमाडौं : भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितहरूको खोजी, उद्धार तथा राहत कार्यका लागि नेपाल आयल निगमले इन्धन तथा एलपी ग्यास आपूर्तिलाई तीव्रता दिएको छ ।

निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै भदौ १० गतेदेखि जारी उद्धार कार्यका लागि हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन उपलब्ध गराइसकेको जानकारी दिएको छ ।

उद्धार कार्यमा संलग्न हेलिकप्टरहरूको सहज उडानका लागि नेपाली सेनासँगको समन्वयमा नुवाकोटस्थित सेनाको ब्यारेकबाट नियमित रिफ्युइलिङको प्रबन्ध मिलाइएको निगमले जनाएको छ । जसअन्तर्गत भदौ १० गते १२ हजार लिटर, ११ गते १० हजार ८४० लिटर (ट्याङ्कर र हेलिकप्टरमार्फत), १२ गते ९ हजार लिटर र १३ गते ९ हजार लिटर गरी कुल ४० हजार ८४० लिटर हवाई इन्धन पठाइएको हो । 

यसैगरी प्रभावित क्षेत्रमा सवारी तथा उद्धार यन्त्रहरूको आवागमन सहज बनाउन निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयमार्फत ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल वितरण गरिएको छ। सार्वजनिक बिदाका दिनमा समेत मागअनुसार इन्धनको नियमित बिक्री वितरणको व्यवस्था मिलाइएको निगमको भनाइ छ ।

खोज तथा उद्धारपछि विभिन्न सेल्टरहरूमा आश्रय लिइरहेका बाढी प्रभावितहरूका लागि खाना पकाउने ग्यासको व्यवस्था समेत गरिएको छ । नेपाल ग्यास उद्योग बालाजुको सहयोगमा नुवाकोटमा २३२ थान र एलपी ग्यास उद्योग संघमार्फत नुवाकोट तथा रसुवाका लागि १५० थान भरिएका सिलिन्डर राहत स्वरूप पठाइएको छ ।

विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै निगमले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै, राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य निरन्तर जारी राख्ने प्रतिबद्धता निगमले व्यक्त गरेको छ ।

थप समाचार