काठमाडौं : भीषण बाढीबाट प्रभावित परिवारको पुनर्वासका लागि बीएलसी अन्तर्गतका कम्पनीहरू तथा बसन्त चौधरी फाउण्डेसनले संयुक्त रूपमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बीएलसी परिवारले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ।
बाढीका कारण हजारौँ परिवार घर, सम्पत्ति तथा जीविकोपार्जनबाट वञ्चित भएको भन्दै संस्थाले तत्कालीन राहतसँगै सुरक्षित आवास र दीर्घकालीन पुनःस्थापनाको आवश्यकता औँल्याएको छ।
सोही उद्देश्यअनुसार बीएलसी अन्तर्गतका कम्पनीहरू र बसन्त चौधरी फाउण्डेसनका तर्फबाट बाढीपीडित परिवारको पुनर्वासका लागि संयुक्त रूपमा ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो।
सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी उक्त रकम वास्तविक पीडित परिवारको पुनर्वासमा प्रभावकारी रूपमा खर्च गरिने संस्थाले जनाएको छ।
उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरकारी निकाय, सामाजिक संस्था तथा सहयोगीहरूप्रति संस्थाले सम्मान व्यक्त गरेको छ।
साथै विपत्तिको यस घडीमा पीडित परिवारको जीवनमा आशा र भरोसा जगाउन सबैलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रह गरिएको छ।