Below Menu

बाढीपीडितलाई अर्थमन्त्री वाग्लेको आश्वासन : ‘स्रोतको अभाव हुन दिँदैनौँ’

बाढीपीडितलाई अर्थमन्त्री वाग्लेको आश्वासन : ‘स्रोतको अभाव हुन दिँदैनौँ’

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गर्दै उद्धार, राहत, उपचार तथा पुनर्स्थापनाका लागि स्रोतको अभाव हुन नदिने बताएका छन्।

शनिबार नुवाकोट पुगेका वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्ट पुगेर उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिए। नेपाली सेनाका उपरथी रञ्जित थापाले हराइरहेका नागरिकको खोजी तथा उद्धार भइरहेको र विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए। उनले बाढी प्रभावित क्षेत्रमा तत्काल बेलिब्रिज आवश्यक रहेको समेत बताए।

वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारको पूर्ण सहयोग रहने भन्दै आवश्यक स्रोतसाधनका लागि कुनै संकोच नगर्न आग्रह गरे। ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ,’ उनले भने।

वाग्लेले गौथली ब्यारेकस्थित हवाई उद्धार केन्द्र तथा राहत सामग्री वितरण केन्द्रको निरीक्षण गर्नुका साथै उद्धार केन्द्रमा आफन्तजनको खोजीमा पुगेका पीडित परिवारसँग भेट गरेका थिए। परिवारजनले जलविद्युत् आयोजनाका सुरुङमा फसेका आफन्तको शीघ्र उद्धारका लागि आग्रह गरेका थिए।

त्यसपछि उनले बाढीले क्षतिग्रस्त ढुङ्गे तथा ऐतिहासिक देवीघाट बजार, देवीघाट–जिलिङ जोड्ने क्षतिग्रस्त पुल र होल्डिङ सेन्टरको निरीक्षण गरे। उद्धार गरिएका स्थानीयसँग भेट गर्दै उनले सरकारबाट उचित उपचार तथा पुनर्स्थापनाको व्यवस्था गरिने बताए।

यसैबीच वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेतृत्वसँग विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाबारे छलफल गरे। वाग्लेले केन्द्र सरकारबाट आवश्यक स्रोत तथा साधनको अभाव हुन नदिने भन्दै आर्थिक स्रोतको चिन्ता नगरी विपद् प्रतिकार्यमा जुट्न आग्रह गरे।

दिनभरको अनुगमनपछि वाग्लेले नेपाली सेनाको विदुर कमाण्ड सेन्टरमा सुरक्षा ब्रिफिङ लिएका थिए। ब्रिफिङअनुसार जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार, मृतकको शव सङ्कलन तथा राहत वितरणलाई तीव्र पारिएको छ।

थप समाचार