काठमाडौं : त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि रोकिएको एलपी ग्यास आपूर्तिका लागि वैकल्पिक व्यवस्था मिलाइएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकाय, ग्यास उद्योगी तथा सरोकारवालासँग निरन्तर संवाद र समन्वय गरेपछि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा ग्यास आपूर्ति सहज बनाउने व्यवस्था मिलाइएको हो।
मन्त्री यादवको पहलपछि नेपाल आयल निगमले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासीलगायतका जिल्लामा रहेका ग्यास उद्योग तथा अन्य जिल्लाका उद्योगसँग समन्वय गरी खाली सिलिन्डर रिफिल गर्ने व्यवस्था मिलाएको छ।
रिफिल गरिएका एलपी ग्यास सिलिन्डर कृष्णभीरको सडक नखुलेसम्म वैकल्पिक मार्ग हुँदै ट्रकमार्फत काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा आपूर्ति गरी बिक्री-वितरण गरिनेछ।
त्यस्तै, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्ति सहज बनाउन ट्यांकर तथा ट्रकलाई स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गबाट काठमाडौंसम्म ल्याउने व्यवस्था समेत मिलाइएको नेपाल आयल निगमले जनाएको छ।
बाढीका कारण सडक अवरुद्ध भएर ग्यास आपूर्तिमा समस्या देखिएपछि मन्त्री यादवले तत्कालै सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै वैकल्पिक व्यवस्थामार्फत आपूर्ति सुचारु गराउन पहल गर्नुभएको थियो। सोही पहल र समन्वयपछि काठमाडौं उपत्यकामा ग्यास अभाव हुन नदिने गरी आपूर्ति व्यवस्थापन गरिएको हो।