काठमाडौं : रुपन्देहीको तिलोत्तमा क्षेत्रमा सञ्चालनमा रहेको टाइगर फरेस्ट होटल प्रालिले आफ्नो क्षमता विस्तार गर्दै पाँचतारे रिसोर्टका रूपमा स्तरोन्नति गर्ने योजना अघि बढाएको छ।
हाल २० वटा कोठाबाट सेवा दिँदै आएको कम्पनीले थप ८० कोठा निर्माण गरी कुल क्षमता १०० कोठामा पुर्याउने तयारी गरेको हो। कम्पनीको प्रस्तावित दोस्रो चरणको विस्तार परियोजनामा १०० वटा लक्जरी वुडेन भिला तथा कोठा निर्माण गरिनेछ।
वातावरणमैत्री वास्तुकलालाई प्राथमिकता दिइने परियोजनामा स्विमिङ पुल, क्यासिनो, ल्यान्डस्केप गार्डेन, बालबालिकाका लागि खेल क्षेत्रलगायतका मनोरञ्जन तथा आतिथ्य सुविधाहरू थप गर्ने योजना छ।
परियोजनाको अनुमानित लागत एक अर्ब ५० करोड रुपैयाँ रहेको छ। कम्पनीले यसमध्ये एक अर्ब रुपैयाँ ऋण र ५० करोड रुपैयाँ इक्विटीमार्फत जुटाउने प्रस्ताव गरेको छ। यसअनुसार परियोजनाको ऋण-इक्विटी संरचना करिब ६७ः३३ रहनेछ।
यद्यपि विस्तारका लागि आवश्यक भनिएको थप १ अर्ब रुपैयाँ ऋणको स्रोत भने हालसम्म निश्चित भइसकेको छैन। कम्पनीको चुक्ता पुँजी २०२६ जुलाई मध्यसम्म २४ करोड ३० लाख रुपैयाँ रहेको छ।
टाइगर फरेस्ट होटलले बैंकिङ कर्जा सुविधाका लागि एक अर्ब ५४ करोड २८ लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालिन कर्जाका लागि एक अर्ब ४८ करोड २८ लाख रुपैयाँ र अल्पकालिन कर्जाका लागि ६ करोड रुपैयाँको रेटिङ गराएको छ ।
रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन बैंकिङ सुविधालाई ‘बीबी माइनस’ र अल्पकालीन सुविधालाई ‘ए फोर’ रेटिङ दिएको छ।
कम्पनीको वित्तीय अवस्थामा भने उच्च ऋण दायित्वको दबाब देखिएको छ। सन् २०२६ मा कम्पनीले ४ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। सो अवधिमा सञ्चालन नाफा मार्जिन १.१३ प्रतिशतमा सीमित रहेको छ। उच्च ब्याज खर्चका कारण कम्पनीको नाफामा दबाब परेको र प्रारम्भिक चरणमा नगद प्रवाह कमजोर रहेको रेटिङ एजेन्सी औंल्याएको छ।
कम्पनीको समग्र गियरिङ २.३२ गुणा र ब्याज भुक्तानी क्षमता ०.०२ गुणा रहेको छ भने चालू अनुपात १.७६ गुणा रहेको छ। सीमित सञ्चालन आकार र उच्च ब्याज दायित्वका कारण आगामी वर्षहरूमा कम्पनीले आम्दानी तथा नगद प्रवाहमा उल्लेख्य सुधार गर्नुपर्ने देखिन्छ।
प्रस्तावित रिसोर्टको प्रमुख आकर्षणका रूपमा ‘बारासिंगा बियर गार्डेन’ विकास गर्ने योजना पनि कम्पनीले अघि सारेको छ। उक्त बियर गार्डेनमा ड्राफ्ट प्रणालीमार्फत बारासिंगा ब्रान्डका विभिन्न प्रकारका बियर उपलब्ध गराउने योजना छ।
टाइगर फरेस्ट होटल प्रालि २०७२ भदौ २० गते निजी लिमिटेड कम्पनीका रूपमा स्थापना भएको हो। कम्पनीका अध्यक्ष मिनराज भुसाल रहेका छन्। उनी नेपाल मदिरा उत्पादक संघका उपाध्यक्षसमेत हुन्।
तिलोत्तमामा रहेको होटल भारत–नेपाल सीमाना तथा भैरहवा क्षेत्रको नजिक छ। लुम्बिनीको निकटताका कारण धार्मिक तथा पर्यटकीय गतिविधिबाट होटलले लाभ लिन सक्ने सम्भावना रहेको छ।
लुम्बिनी युनेस्को विश्व सम्पदा सूचीमा रहेको महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक गन्तव्य भएकाले स्वदेशी तथा विदेशी पर्यटकको आवागमनमा हुने वृद्धि प्रस्तावित रिसोर्टका लागि व्यवसाय विस्तारको आधार बन्न सक्ने देखिन्छ।
कम्पनीले वातावरणमैत्री संरचना, लक्जरी आवास तथा विभिन्न मनोरञ्जन र आतिथ्य सुविधालाई एकीकृत गर्दै प्रस्तावित परियोजनालाई लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रमा विशिष्ट पहिचान बनाउने लक्ष्य लिएको छ।