काठमाडौं : नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ प्रणालीमार्फत प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न थप सहज व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सोमबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई पत्राचार गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट विभिन्न बैंक तथा वित्तीय संस्थामा खोलिएका प्रधानमन्त्री राहत कोषका खातामा मोबाइल बैंकिङ एपमार्फत रकम जम्मा गर्ने व्यवस्था गर्न जानकारी गराएको हो।
हाल मोबाइल बैंकिङ एपबाट क्यूआर कोड स्क्यान गरी वा अन्तरबैंक फण्ड ट्रान्सफरमार्फत रकम रकमान्तर गर्न सकिने व्यवस्थाका अतिरिक्त अब सोही एपमार्फत सोझै रकम प्रविष्ट गरी तोकिएको खातामा रकम रकमान्तर गर्न सकिने छुट्टै विकल्प समेत व्यवस्था गर्नुपर्नेछ।