काठमाडौं : एनएमबि बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि तीन करोड ५१ लाख रुपैयाँ सहयोग गर्ने गर्ने भएको छ ।
बैंकका संचालक समितिका अध्यक्षले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी उक्त रकम बराबरको चेक अर्थ मन्त्रीलाई हस्तान्तरण गरेका छन् ।
साथै, बैंकले उक्त प्रभावित क्षेत्रका नगरिकहरुका लागि रु. दश लाख बराबरको राहत सामाग्री समेत प्रदान गरेको छ । अचानक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायतका नदी तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ ।
बाढीले जनधनको क्षति हुनुका साथै धेरै घर परिवार विस्थापित भएका छन् भने सडक, स्थानीय पूर्वाधार र जलविद्युत् आयोजनाहरूमा समेत ठूलो असर परेको छ ।
यस कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको साथमा उभिँदै बैंकले उक्त सहयोग प्रदान गरेको हो । यसबाट बाढी प्रभावितको उपचार, खाद्यान्न तथा आवासको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनस्र्थापनाका जस्ता कार्यहरुमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।