‘भोटेकोशी बाढीले चीनसँगको व्यापार ठप्प भयो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम छ’ 

‘भोटेकोशी बाढीले चीनसँगको व्यापार ठप्प भयो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम छ’ 

काठमाडौं : दशैँ-तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ । गत बुधबार रसुवागढीमा आएको बाढीले करिब २०० कन्टेनर सामान बगाएको छ ।

बाढी कारण रसुवागढी नाका ठप्प भएकै बेला तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द भएपछि बजारमा केही सामान अभावसँगै करीब २० प्रतिशतसम्म मूल्य बढ्ने जोखिम देखिएको छ ।

नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष रामहरी कार्कीका अनुसार बाढीमा बगेका गाडीमा लत्ताकपडा, जुत्ता-चप्पल, इलेक्ट्रोनिक्स, फलफूललगायत दशैँ-तिहारका लागि आयात गरिएका सामान थिए ।

‘व्यवसायीले चीनबाट आयात गर्न लागेका चाडपर्व लक्षित सामान नै बाढीमा बगेकाले तत्काल बजारमा सामान उपलब्ध नहुने चिन्ता छ,’ कार्कीले भने । यस्तो अवस्थामा चीन सरकारले तातोपानी नाका समेत अनिश्चित कालका लागि बन्द गरेपछि अहिले चीनबाट सामान ल्याउने तत्कालको मुख्य विकल्प कोरोला नाका बनेको छ ।

तर तातोपानीबाट एक दिनमै काठमाडौं आइपुग्ने सामान कोरला नाका हुँदै ल्याउँदा ६ देखि १० दिनसम्म लाग्ने भएकाले आपूर्ति व्यवस्थामा थप दबाब परेको छ । ढुवानी लागतसमेत दोब्बरको हाराहारीमा पुगेको छ । यसअघि एउटा कन्टेनरको भाडा करिब १ लाख ७५ हजारदेखि दुई लाख रुपैयाँ रहेकोमा अहिले तीन लाखदेखि चार लाख रुपैयाँसम्म पुगेको कार्कीले बताए । गाडीको अभावका कारण महँगो भाडा तिर्दा पनि कन्टेनर पाउन कठिन रहेको उनको भनाइ छ ।

ढुवानी लागत बढ्दा बजारमा १० देखि २० प्रतिशतसम्म मूल्यवृद्धि हुनसक्ने उनले बताए । तर मूल्य बढ्नु भन्दा पनि चाडपर्वमा आवश्यक सामान नै अभाव हुन सक्ने जोखिम बढी रहेको उनको भनाइ छ ।

समुद्री मार्गबाट सामान ल्याएर तत्कालको समस्या समाधान गर्न पनि सम्भव छैन । चीनबाट स्थलमार्ग हुँदै सामान काठमाडौं आइपुग्न करिब १२–१३ दिन लाग्ने भए पनि समुद्री मार्गबाट ५५ देखि ६५ दिनसम्म लाग्ने भएकाले अहिले पठाइएका सामान दशैँ–तिहारअघि बजारमा आइपुग्ने सम्भावना नरहेको कार्कीले बताए ।

बाढीबाट भएको क्षतिको यकिन विवरण तयार भइनसके पनि संघको प्रारम्भिक अनुमानमा करिब दुई अर्ब रुपैयाँभन्दा बढीको सामान नष्ट भएको छ । ‘एउटा गाडीमा ५० लाखदेखि दुई करोड रुपैयाँसम्मको सामान रहेको आधारमा यस्तो अनुमान गरिएको हो,‘ उनले नेपाल न्यूज बैंकसँग भने ।

यसबाट सरकारको राजस्वमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ । कार्कीका अनुसार रसुवा र तातोपानी नाकाबाट यस वर्ष करिब ५० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य रहेकामा बाढीमा बगेका गाडीका सामानबाट मात्रै व्यवसायीले १७-१८ करोड रुपैयाँ राजस्व तिरिसकेका थिए ।

कार्कीले तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन नेपाल सरकारले चीनसँग द्विपक्षीय वार्ता गर्नुपर्नेमा जोड दिएका छन् । दीर्घकालीन रूपमा दोलखाको लामाबगर नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

बाढीले रसुवागढी नाकाबाट हुने नेपाल–चीन व्यापार ठप्प भएपछि चीनतर्फ केरुङमा नेपालका लागि समान बाकेर आएका १७६ वटा कन्टेनर रोकिएका छन् । ती गाडीका लागि ७४ जना चालक मात्र रहेकाले सबै सामान एकैपटक ल्याउन समस्या भएको संघले उनले बताए । विशेषगरी फलफूल बोकेका कन्टेनर लामो समय रोकिँदा कुहिने जोखिम बढेको छ ।

बाढीबाट संघसँग आबद्ध ७६ जना व्यक्ति अझै बेपत्ता रहेको कार्कीले बताए । बैंकबाट ऋण लिएर दशैँका लागि सामान ल्याएका व्यवसायीको सामान र गाडी गुमेकाले चाडपर्वपछि यसको आर्थिक असर अझ गम्भीर रूपमा देखिन सक्ने उनको भनाइ छ । संघले प्रभावित व्यवसायीलाई नगद सहयोग उपलब्ध गराउने विषयमा समेत छलफल अघि बढाएको जनाएको छ ।

रसुवा बाढीपछि संघको साधारणसभा स्थगित

रसुवामा आएको भीषण बाढी तथा पहिरोका कारण संघले आफ्नो साधारणसभा तथा निर्वाचन प्रक्रिया स्थगित गरेको छ । बाढीबाट संघसँग आबद्ध व्यवसायीहरू प्रभावित भएपछि पूर्वनिर्धारित कार्यक्रम स्थगित गरिएको हो ।

संघका अध्यक्ष कार्कीका अनुसार आगामी भदौ १४ गते उम्मेदवारी दर्ता गर्ने र १९ गते नयाँ नेतृत्व चयनका लागि साधारणसभा गर्ने कार्यक्रम तय गरिएको थियो । तर भदौ १० गते रसुवामा बाढी तथा पहिरो गएपछि व्यवसायीहरू उद्धार, आफन्तको खोजी तथा क्षतिको व्यवस्थापनमा व्यस्त हुनुपरेकाले कार्यक्रम स्थगित गरिएको हो ।

‘कसैको आफन्त खोज्नुपर्ने अवस्था छ, कसैको सामान हराएको पीडा छ । कसैको शव भेटिएपछि अन्त्येष्टिलगायतका संस्कारमा पनि समय लाग्ने भएकाले अहिले साधारणसभा गर्ने अवस्था रहेन,’ कार्कीले भने । अर्को सूचना जारी नभएसम्म निर्वाचन प्रक्रिया स्थगित गरिएको कार्कीले बताए ।