पोखरा : सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका नवनियुक्त अध्यक्ष गोपाल कुमार शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
शर्माले बुधबार नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक शिखा अधिकारी रेग्मीसमक्ष सपथ लिएका हुन्। सपथ ग्रहण समारोहमा संस्थाका सञ्चालकद्वय लक्ष्मण खड्का क्षेत्री र राजेन्द्र रेग्मी, प्रमुख कार्यकारी अधिकृत राधेश्याम श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत बाबुराम कुँवरको उपस्थिति थियो।
यसअघि अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएपछि रिक्त भएको संस्थापक समूहअन्तर्गतको सञ्चालक पदमा गोपाल कुमार शर्मालाई नियुक्त गरिएको थियो। त्यसपछि सञ्चालक समितिको १८४औँ बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो।
नवनियुक्त अध्यक्ष शर्मा लामो समय शिक्षण पेसामा आबद्ध रही अवकाश प्राप्त व्यक्ति हुन्। उनले शिक्षाशास्त्र तथा मानविकी एवं समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेका छन्।
सपथ ग्रहणसँगै शर्माले सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिको नेतृत्व सम्हालेका छन्।