ललितपुर : नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास(आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको अवस्थालाई ध्यानमा राख्दै नास आईटीले सीमित रूपमा साधारणसभा सम्पन्न गरेको हो।
सभाको सुरुवातमै विपद्मा ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। नास(आईटीले मृतकप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
विपद्को अवस्थालाई ध्यानमा राख्दै संस्थाले यसअघि तय गरेका अन्य कार्यक्रमहरू रद्द गरी साधारणसभाका औपचारिक तथा वैधानिक कार्यसूची मात्रै अघि बढाएको थियो।
चौथो साधारणसभाबाट आगामी तीन वर्षका लागि नौ जना बोर्ड सदस्य निर्वाचित भएका छन्।
सन् २०२६-२०२९ का लागि नवनिर्वाचित बोर्डमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं, योङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष विभूषण बिष्ट, लिपफ्रग टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकृत कैलाश राज विजयानन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला,क्विकफक्स कन्सल्टिङका सीईओ पल्लव पराजुली, बीआईसी टेक्नोलोजीकी सह-संस्थापक प्रार्थना साख, जेस्पर आईटीका सीईओ सागर केसी, अलाया नेपालकी जेनेरल मेनेजर श्रेया श्रेष्ठ, रिप्पलबाइट्स सोलुसन्सका सह(संस्थापक सुब्रत ज्ञवाली रहेका छन् ।
९ जना बोर्ड सदस्यमध्येबाट सन् २०२६-२०२७ का लागि दीपेन चापागाईं अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, विभूषण बिष्ट उपाध्यक्ष, श्रेया श्रेष्ठ महासचिव र सागर केसी कोषाध्यक्षमा निर्वाचित भएका छन्। बाँकी पाँच जना निर्वाचित बोर्ड सदस्यले कार्यसमिति सदस्यका रूपमा काम गर्नेछन्।
नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि संस्थाको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने जनाएको छ ।
यस्तै नयाँ कार्यसमितिले नास आईटीका आफ्ना सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँग सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ। नेपालमा प्रविधि उद्योगको विकाससँगै नेपाली प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय बजारमा उपस्थिति विस्तार गर्न संस्थाले काम गर्नेछ।
नास आईटी नेपालका सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो। संस्थाले नीति पैरवी, उद्योग विकास, प्रतिभा तथा जनशक्ति विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। साथै, नेपाललाई विश्वसनीय विश्वव्यापी प्रविधि हबका रूपमा स्थापित गर्ने दिशामा समेत संस्थाले पहल गर्दै आएको छ।