भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल

भोटेकोशी बाढीले नुवाकोटका १५ सहकारी पूर्ण क्षति, पुनःस्थापनामा एकजुट हुन अपिल

नुवाकोट : भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नुवाकोटका १५ वटा सहकारी संस्था पूर्ण रूपमा क्षति भएको जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटले जनाएको छ।

जिल्ला सहकारी संघले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढीबाट सहकारी संस्थाका कार्यालय, भवन, फर्निचर, कम्प्युटर तथा विद्युतीय सामग्री, कागजात र महत्वपूर्ण अभिलेखसमेत बगाएर पूर्ण क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको हो। 

संघका अनुसार विदुर नगरपालिका १  स्थित साधु बहुउद्देश्यीय, उपकार बचत तथा ऋण, त्रिशूली बचत तथा ऋण, दक्षिणकाली बचत तथा ऋण, कुलमत्तेश्वर बचत तथा ऋण, मातृभूमि बहुउद्देश्यीय, मातामनकामना बचत तथा ऋण र लाङ्टाङ बहुउद्देश्यीय सहकारी रहेका छन् । त्यस्तै विदुर ७ स्थित हाम्रो सहकारी, विदुर १० स्थित शुभकामना बहुउद्देश्यीय, उत्तरगया बचत तथा ऋण, शुभारम्भ बचत तथा ऋण, विकासशील कृषि र नवदिप कृषि सहकारी रहेका छन् । त्यस्तै विदुर ५ स्थित जालपादेवी बहुउद्देश्यीय संस्था रहेका छन्।

संघले क्षति भौतिक संरचना र सम्पत्तिमा मात्र सीमित नभई वर्षौँदेखि संकलन गरिएका संस्थागत अभिलेख, कागजात तथा सदस्यहरूको विवरणसमेत नष्ट भएकाले प्रभावित संस्था र हजारौँ सदस्यको आर्थिक तथा संस्थागत जीवनमा गम्भीर असर पर्न सक्ने अध्यक्ष शिवप्रसाद अधिकारीले जानकारी दिए।

विपद्को समयमा सहकारीबीच एकता र सहकार्य आवश्यक रहेको भन्दै संघले ‘मेरो संस्था’ र ‘तिम्रो संस्था’ नभनी ‘हाम्रो सहकारी अभियान’ भन्ने भावनाका साथ सबै सहकारी एक ठाउँमा उभिन अपिल गरेको छ। 

संघले प्रभावित सहकारी संस्था तथा सदस्यको सहयोगका लागि सहकारी संस्था, सहकारीकर्मी, सदस्य, सञ्चालक, कर्मचारी, स्थानीय तह, प्रदेश तथा संघीय सरकार, सहकारी संघहरू, बैंक तथा वित्तीय क्षेत्र, सामाजिक संघसंस्था र स्वदेश–विदेशमा रहेका नेपालीहरूलाई सहयोगमा जुट्न आग्रह गरेको छ। 

संघले प्रभावित संस्थाको क्षतिको यथार्थ विवरण संकलन, तत्काल राहत, कागजात तथा अभिलेख संरक्षण र पुनर्निर्माण, कार्यालय पुनःस्थापना, सदस्यको जीविकोपार्जनमा सहयोग तथा संस्थालाई पुनः सञ्चालन गर्न आवश्यक आर्थिक र प्राविधिक सहयोग गर्न आह्वान गरेको छ। 

विपद्मा सहकारी अभियानले सहकारीकै लागि हातेमालो गर्दै प्रभावित संस्थालाई उठाउन र सदस्यको आँसु पुछ्नुपर्ने अध्यक्ष अधिकारीले बताए।

थप समाचार