काठमाडौं : मोरङको विराटचोकस्थित तीनतारे नेपालिरिका होटल पब्लिक लिमिटेड सन् २०२६ मा ४ करोड ५० लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ।
होटलको अकुपेन्सी दरमा आएको गिरावट, उच्च मार्जिन दिने खाद्य तथा पेय पदार्थ तथा कार्यक्रम व्यवसायबाट हुने आम्दानीमा कमी, साथै उच्च मूल्यह्रास र ब्याज खर्चका कारण कम्पनी घाटामा गएको हो।
कम्पनीको अकुपेन्सी अर्थात् कोठा भरिने दर पनि कमजोर बनेको छ। सन् २०२५ मा २४ प्रतिशत रहेको अकुपेन्सी दर सन् २०२६ मा घटेर २१.४५ प्रतिशतमा सीमित भएको छ।
रेटिङ प्रतिवेदनअनुसार सन् २०२६ मा नेपालिरिका होटलको वित्तीय तथा सञ्चालन प्रदर्शनमा उल्लेखनीय दबाब परेको छ। विशेषगरी सन् २०२५ को सेप्टेम्बरमा भएको जेनजी आन्दोलनका क्रममा होटलको एक सेमिनार हलमा आगलागी भएपछि कम्पनीको व्यवसाय प्रभावित भएको थियो।
आगलागीबाट भएको भौतिक क्षति धेरै ठूलो नभए पनि पुनःस्थापना तथा मर्मतसम्भारका क्रममा होटलका केही व्यावसायिक गतिविधि प्रभावित भएका थिए। यसको प्रत्यक्ष असर कम्पनीको सञ्चालन आम्दानीमा देखिएको छ।
सन् २०२५ मा १५ करोड ६० लाख रुपैयाँदेखि १५ करोड ९० लाख रुपैयाँको स्तरमा रहेको कम्पनीको सञ्चालन आम्दानी सन् २०२६ मा घटेर १३ करोड ७० लाख रुपैयाँमा पुगेको छ। सन् २०२४ मा कम्पनीको सञ्चालन आम्दानी ११ करोड ९० लाख रुपैयाँ रहेको थियो।
उच्च मार्जिन दिने खाद्य तथा पेय पदार्थ तथा कार्यक्रम, भोजभतेर र सेमिनार व्यवसायमा आएको कमीले कम्पनीको नाफामा समेत ठूलो असर परेको छ। कम्पनीको सञ्चालन नाफा मार्जिन सन् २०२५ को ३८.६० प्रतिशतबाट घटेर सन् २०२६ मा १५.२५ प्रतिशतमा झरेको छ।
कम्पनीको कुल बैंक सुविधा पनि घटेको छ। यसअघि ८१ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको कुल बैंक सुविधा घटेर ७८ करोड ७५ लाख ६० हजार रुपैयाँ कायम भएको छ। दीर्घकालीन बैंक सुविधा ७९ करोड ८४ लाख ६० हजार रुपैयाँबाट घटेर ७६ करोड ७५ लाख ६० हजार रुपैयाँमा झरेको छ भने अल्पकालीन बैंक सुविधा २ करोड रुपैयाँ कायम रहेको छ।
कम्पनीको पूँजी संरचनामा भने केही सुधार देखिएको छ। प्रवद्र्धकबाट निरन्तर थप गरिएको इक्विटी लगानी तथा सावाँ ऋणको नियमित भुक्तानीका कारण कम्पनीको समग्र गियरिङ अनुपात सन् २०२५ को १।४८ गुणाबाट सुधार हुँदै सन् २०२६ मा १.४३ गुणामा पुगेको छ।
कम्पनी घाटामा रहेकाले सन् २०२६ मा ब्याज भुक्तानी क्षमता कमजोर बनेको छ। कम्पनीको ब्याज कभरेज रेसियो सन् २०२४ मा ०.६८ गुणा रहेकोमा सन् २०२५ मा सुधार हुँदै १.६० गुणा पुगेको थियो। तर आर्थिक वर्ष २०२६ मा पुनः कमजोर हुँदै ०.३२ गुणामा झरेको छ।
नेपालिरिका होटलले कुल १६८ वटा कोठा सञ्चालन गरिरहेको छ। यसमध्ये मोरङको विराटचोकमा १३५ वटा र झापाको दमकमा ३३ वटा कोठा रहेका छन्।होटलले चारवटा बैंक्वेट हल सञ्चालन गर्नुका साथै रेस्टुरेन्ट, जिम तथा हेल्थ क्लब, स्विमिङ पुल र स्पालगायतका सुविधा प्रदान गर्दै आएको छ।
नेपालिरिका होटल पीएलओ ग्रुपसँग आबद्ध कम्पनी हो। उक्त समूहले होटल, शिक्षा तथा अटोमोबाइल क्षेत्रलगायत विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीको सञ्चालक समितिको अध्यक्षता भोलेश्वर दुलालले गर्दै आएका छन्।
सन् २०१८ मा स्थापना भएको नेपालिरिका होटल पब्लिक लिमिटेड मोरङ जिल्लाको विराटचोकमा अवस्थित तीनतारे होटल हो।
नेपालिरिका होटलले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ।
आईपीओ निष्कासनका लागि कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।