भोटेकोशी बाढीपीडितको राहतमा एनएमसीको १२ लाख ६५ हजार योगदान

भोटेकोशी बाढीपीडितको राहतमा एनएमसीको १२ लाख ६५ हजार योगदान

झापा : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले राहत, सहयोग तथा पुनर्निर्माणका लागि १२ लाख ६५ हजार २५८ सहयोग गर्ने निर्णय गरेको छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला एनएमसीले पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

संस्थाले बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को घडीमा पीडित नागरिकसँग एकता र ऐक्यबद्धता जनाउन संस्था तथा कर्मचारीको तर्फबाट सहयोग गर्ने निर्णय गरेको जनाएको छ। उक्त रकममा कर्मचारीको एक दिनको पारिश्रमिकसमेत समावेश गरिएको छ।

सहकारीको मूल मर्म आपसी सहयोग, सहकार्य र समुदायप्रतिको उत्तरदायित्वसँग जोडिने भएकाले एनएमसीले वित्तीय कारोबारसँगै सामाजिक सरोकारका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको छ। संस्थाको आधिकारिक विवरणअनुसार एनएमसीले सदस्य तथा समुदायको सुख–दुःखमा साथ दिने विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ। 

भोटेकोशी बाढीले घर तथा भौतिक संरचनासँगै नागरिकको जीविकोपार्जनमा समेत असर पारेको अवस्थामा तत्कालीन राहतसँगै प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनःस्थापनामा दीर्घकालीन सहयोग आवश्यक देखिएको छ। यही अवस्थालाई ध्यानमा राख्दै एनएमसीले आफ्नो तर्फबाट सहयोगको हात बढाएको हो।

एनएमसीको यो निर्णयले विपद्का बेला सहकारी संस्था केवल वित्तीय कारोबारमा सीमित नरही समुदायको दुःखमा समेत साझेदार बन्नुपर्ने सामाजिक भूमिकालाई उजागर गरेको छ। संस्था र कर्मचारीको संयुक्त सहभागिताबाट जुटाइएको १२ लाख ६५ हजार २५८ ले भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनामा केही भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

थप समाचार