सात बैंकहरुको लाभांश घोषणा, कुनको कति ? 

सात बैंकहरुको लाभांश घोषणा, कुनको कति ? 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सात बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन्। लाभांश घोषणा गर्ने संस्थामा तीन वाणिज्य बैंक, तीन विकास बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन्।

लाभांश घोषणा गर्ने संस्थामध्ये गरिमा विकास बैंकले सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

ग्लोबल आइएमई बैंकको १० प्रतिशत लाभांश

ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीलाई वितरण हुनेछ।

एभरेष्ट बैंकको १५ प्रतिशत लाभांश

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ चुक्ता पूँजीको आधारमा लाभांश प्रस्ताव गरेको जनाएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।

बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज १४ गते बुधबार काठमाडौंको आम्रपाली ब्यांक्वेट, भाटभटेनीमा ३२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान १० बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ। जसअनुसार भदौ ३१ गतेसम्म नेप्सेमा कायम शेयरधनीले सभामा भाग लिन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सानिमा बैंकको १० प्रतिशत नगद लाभांश

सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको हाल कायम चुक्ता पूँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ। साधारण शेयरधनीलाई बैंकले एक अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै, अग्राधिकार शेयरधनीलाई शेयर बाँडफाँट भएको मितिदेखि आर्थिक वर्षको अन्त्यसम्मको अवधिका आधारमा करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। अग्राधिकार शेयरधनीका लागि ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ छुट्याइएको छ।

बैंकले साधारण तथा अग्राधिकार शेयरधनीलाई गरी कुल एक अर्ब ४१ करोड ५ लाख ९० हजार ८९७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सानिमा बैंकले प्रस्तावित लाभांश पारित गर्न असोज १२ गते काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनीमा २२औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ ३१ गतेसम्म कायम शेयरधनी लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

गरिमा विकास बैंकको सबैभन्दा बढी २० प्रतिशत

गरिमा विकास बैंकले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको ३५१औँ बैठकले उक्त निर्णय गरेको हो।

बैंकले हाल कायम ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२ प्रतिशत

सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसा रहेको छ।

४ प्रतिशत बोनस शेयरबापत १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ २२ पैसा बराबरको शेयर वितरण गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै, नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ ४७ पैसा छुट्याइएको छ।

बोनस तथा नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ ६९ पैसा लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कामना सेवा विकास बैंकको १५ प्रतिशत नगद लाभांश

कामना सेवा विकास बैंक लिमिटेडले साधारण शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले अग्राधिकार शेयरधनीलाई अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

बैंकको कुल चुक्ता पूँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१४ रुपैयाँ ९४ पैसा रहेको छ। साधारण शेयर पूँजीको १५ प्रतिशतका दरले ५७ करोड ९२ लाख ९५ हजार ६२२ रुपैयाँ २४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।

अग्राधिकार शेयरधनीका लागि एक करोड ४० लाख ६७ हजार ९२३ रुपैयाँ २९ पैसा लाभांश प्रस्ताव गरिएको छ। बैंकले प्रस्तावित लाभांश पारित गर्न भदौ ३१ गते काठमाडौंको आम्रपाली बैंक्वेट, भाटभटेनी, बालुवाटार रोडमा २०औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि बैंकले भदौ १८ गते एक दिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।

निफ्राको ५.२६ प्रतिशत नगद लाभांश

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले शेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। भदौ १४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित उक्त दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

निफ्राको प्रस्तावित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

 

थप समाचार